इटहरीः नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको मागलाई सम्बोधन गर्दै सरकारले विद्यार्थीहरुको स्वास्थ्य उपचारको लागि ओपिडी टिकटमा पचास प्रतिशत छुट दिने व्यवस्था गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेका हुन् ।

तत्कालका लागि केन्द्रिय अस्पतालहरुमा ५० प्रतिशत उपचार छुट गरिने र प्रदेश र स्थानीय तहमा पनि पत्राचार गर्दै देशभरका स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुमा छुट दिने व्यावस्थ ागर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

केन्द्रिय अस्पतालहरुमा मन्त्रालयले पत्राचार गरेपछि लागु हुने र प्रदेश र स्थानीय तहमा पनि पत्राचार गरिने मन्त्रालयले बताएको छ । 

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरूलाई अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । 

संगठनले सोमबार  प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो माग बमोजिमको निर्णय गरेकोमा मन्त्री खापुङ र राज्यमन्त्री हिराबहादुर केसीलाई पनि धन्यवाद दिएको छ ।

सरकारले प्रदेश १ को लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विराटनगरको कोशी अस्पतालमा सो छुट सुविधा उपलव्ध हुने जनाएको छ । उपचार गर्न जाँदा विद्यार्थीले परिचयपत्र लिएर जानुपर्नेछ ।