इटहरीः इटहरीको धरान बस स्टेण्ड नजिकै सोमबार सडक किनारको रुख लडेर टेम्पोलाई किचेको छ । मध्याह्न १२ बज्न बजे प्रभु बैंक अगाडि रुख लडेर सो टेम्पोलाई किचेको हो ।
को २ ह ३११४ नम्बरको बजाज टेम्पोलाई रुखले किचेको प्रत्यक्षदर्शी तथा घटनास्थल नजिकैको सुमेरु होटलका सञ्चालक अर्जुन शर्माले बताए । शर्माका अनुसार रुख लडेर टेम्पो किचेको समयमा टेम्पोमा चालक तथा यात्रु भने थिएनन् । लडेको रुखले टेम्पोको अगाडिको माथिल्लो भागमा क्षति पुर्याएको छ ।
सडक किनारको मक्किएको रुखले टेम्पो किचिएको भन्दै यस्ता अन्य मक्किएका जोखिमयुक्त रुख हटाउनुपर्ने घटनास्थलमा भेला भएका प्रत्यक्षदर्शीले बताए । स्थानीय युवा आशिष कार्की मक्किएका रुख हटाएर नयाँ रुख रोप्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘सडक किनारमा रुख चाहिन्छ तर मक्किएका रुख चाहिँदैनन् । त्यसैले मक्किएका रुख हटाउने र नयाँ रुख जेसीबीले उखेलेर ल्याएर रोप्नुपर्छ ।’