इटहरीः साबिक नेकपा एमाले र नेकपा माओवादी केन्द मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । अहिले पनि नेकपामा भावनात्मक एकता नभएको स्वयं नेकपाका शीर्षस्थ नेताले बताउँदै आएका छन् ।
प्रदेश १ मै पनि नेकपाको भावनात्मक एकताको समस्या देखिन्छ । पूर्व माओवादी मन्त्री आउँदा पूर्वमाओवादीहरू मात्रै ‘रिसिभ’ गर्न जाने र पूर्व एमालेका मन्त्री आउँदा पूर्व एमालेजनहरू मात्रै जाने गर्नुले पनि यो देखाएको छ ।
इटहरीका मेयर द्वारिकलाल चौधरी भने यो मामिलामा फरक देखिएका छन । केही समय अगाडि विराटनगरमा नेकपाका अध्यक्ष प्रचण्ड आउँदा माला लिएर पुगे एमालेबाट विजयी बनेका मेयर द्वारिकलाल चौधरी ।
गत कात्तिक १८ गते विराटनगरमा पहिलो पटक प्रचण्डलाई विमानस्थलमा स्वागत गर्न पुगेका मेयर चौधरीले आफूले स्वागत गरेको तस्बिर फेसबुकमा राखे र लेखे, ‘कमरेड प्रचण्डलाई स्वागत गर्दै विराटनगर विमानस्थलमा ।’
कात्तिकमा पहिलोपटक फूलमाला लिएर प्रचण्डलाई भेट्न गएका मेयर चौधरीले सोही तस्बिर पटकपटक फेसबुकमा राख्दै आएका छन् । उनले मंसिर १ गते सोही तस्बिर फेसबुकमा राख्दै अङ्ग्रेजीमा लेखे, ‘हरेक शुभारम्भ समस्या नै हुन्छ ।’
दोस्रो पटक तस्बिर राखेको १५ दिनपछि मेयर चौधरीले सोही तस्बिर फेरि अपलोड गरे । मंसिर १५ मा अपलोड गरिएको तस्बिरको व्याख्या गर्दै मेयरले अङ्ग्रेजीमै लेखे, ‘तपाईंले हावालाई निर्देशन दिन सक्नुहुन्न तर नाउलाई सन्तुलन मिलाउन सक्नुहुन्छ ।’
प्रचण्ड तस्बिरको पोस्ट तेस्रो पटक राखेको १४ दिनपछि पनि मेयर चौधरीले सोही तस्बिर राखे । मंसिर २९ गते राखिएको तस्बिरमा प्रचण्डलाई माला लगाएको देखिन्छ । सो तस्बिर फेसबुकमा राख्दै मेयर चौधरीले अङ्ग्रेजीमै लेखेका छन, ‘सधैँ आफ्ना शत्रुहरूलाई क्षमा दिनुहोस् । तर, नामहरू भने नभुल्नुहोस् ।’
यसरी प्रचण्डलाई माला लगाएर राखिएका तस्बिर राखेर पटकपटक पोस्ट गर्दा मेयर चौधरीले आफ्ना प्रेस संयोजक लीलाराज भट्टराई, कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी महेश्वर कार्कीलगायतलाई ट्याग गर्दै आएका छन् ।
एमालेमा हुँदा नेताहरूलाई माला लगाइदिएको तस्बिर खासै पोस्ट नगर्ने मेयर चौधरी अहिले प्रचण्डलाई माला लगाएका तस्बिरहरू भने पटकपटक पोस्ट गरिरहेका छन् । एमालेमा हुँदा महासचिव ईश्वर पोखरेल निकटका मानिने चौधरीले पोखरेलका तस्बिरहरू पनि प्रचण्डको जस्तो प्राथमिकतामा राखेर पोस्ट गरेका थिएनन् ।
पार्टी एकीकरण भएपछि भने प्रचण्डको एउटै तस्बिर पटकपटक पोस्ट गर्नुलाई मेयर चौधरीले आफ्नो लाइन क्लियर पारेको भन्दै नेकपा इटहरीमा गाइँगुइँ चल्न थालेको छ ।
कतिपय जनप्रतिनिधिहरूले भने मेयर चौधरीले ‘प्रचण्ड भक्ति’ गरेको भन्न थालेका छन् । साबिक एमालेबाट निर्वाचित जनप्रतिनिधि भन्छन्, ‘मेयर सा’बको प्रचण्डको भक्ति र चाकरी धेरै भएको भनी मलाई धेरैले सुनाएका छन् । उहाँलाई प्रश्न गर्न पनि गाह्रो छ । कुन मुड चल्छ के भन्नुहुन्छ ।’
उता, मेयर चौधरीले भने यस बारेमा केही पनि अभिव्यक्ति सार्वजनिक गरेका छैनन् ।