इटहरीः दशैँको खास परम्परा र संस्कृति लोप हुँदै गइरहेको अवस्थामा झापाको मेचिनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षको आव्हानमा टोल टोलमा लिङ्गे पिङ लगाइएको छ ।
हिन्दुहरुको महान पर्व वडा दशैँको अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कीको आव्हानमा वडाका २२ वटा टोलमा लिङ्गे पिङ्ग लगाइएको हो ।
पुरातन संस्कृति र सभ्यतालाई जोगाउँदै अहिलेको पुस्तालाई संस्कृति र परम्पराको ज्ञान दिलाउन र दशैँमा पिङ्गको महत्वबारेमा बुझाउन वडाका सबै टोलमा पिङ्ग लगाउन आफुले गरेको आव्हान सबैले स्वीकार गरेपछि वडाका २२ वटा टोलमा पिङ्ग लागेको वडा अध्यक्ष कार्की बताउँछन् ।
झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नम्बर ४ मा जम्मा २३ वटा टोल विकास संस्था रहेकोमा २२ वटा टोलमा पिङ्ग लागेको वडा नम्बर ४ को संस्कृतिक टोलीका अध्यक्ष हेम कुमार प्रद्यानले बताए ।
संस्कृति सँग जोडिएको पर्व दशैँ भएता पनि विभिन्न राजनितक उत्तर चढाव र परिवर्तित समाजका कारण मान्यताहरु लोप हुँदै जाने भएकाले नविनतम सोचका साथ पिङ्ग हाल्न र समाजलाई भावनात्मक एकतामा जोड्न आव्हान गरिएको वडा अध्यक्ष कार्कीले बताए ।
‘हामीले खास केहि गरेका होइनौ मात्रै २०४६ साल भन्दा यता समाजमा राजनितिक कुराभन्दा अरु कुरा भएनन् त्यसैले पनि समाजमा साँस्कृतिक कुराहरु जोड्न सके भावनात्मक एकता हुन्छ भनेर वडाका सवै टोल विकास संस्थालाई आव्हान मात्रै गरेका हौँ ।’ कार्कीले सुनाए ।
लिङ्गे पिङ्ग भनेको युवा अवस्थामा प्रेम सम्बन्धको प्रतिक हो । पिङ्ग हालेपछि तल्लो घरमा माथ्लो घरका बच्चादेखि लिएर बुढाबुढी र पाहुँना सम्म सबै पिङ्ग खेल्ने वाहानामै भएपनि भेट्ने र एक अर्कामा भावनात्मक सम्बनध जोड्ने अवसर प्राप्त हुन्छ त्यसैले पनि दशैँमा पिङ्गको महत्व छुट्टै छ । ‘समाजमा भावनात्मक एकता कायम गर्ने मेरो एउटा सानो प्रयास हो । ’कार्की भन्छन् ।
समय साच्चै परिवर्तित छ अहिलेको पुस्तालाई साँझमा झ्याउँकिरीको आवाज थाहा छैन । जुनकिरीको महत्व पनि पुस्ताले विर्सिसके त्यसैले पनि पिङ्गको वाहानामा समाजलाई र पुस्तालाई यथार्थ र परम्परासँग परिचित गराउन मेचि नगर नगरपालिकाको वडा नम्बर ४ले प्रयास गरेको छ ।
वडाको साँस्कृतिक महत्वलाई बचाई राख्न एउटा साँस्कृतिक टोली गठन गरिएको छ । टोलिका अध्यक्ष हेम कुमार प्रद्यान बषौँ सम्म अल्झिरहेको सम्बन्ध जोड्ने कामगर्ने चाडवाडमा २० भन्दा बढि पिङ्ग लगाउँदा नयाँ अनुभुति गर्ने अवसर दिएको बताउँछन् ।
‘विगतमा धेरै साथीहरु नेतृत्वमा आउनुभयो तर यस्तो काम गर्नुभएको थिएन । हाम्रो वडा अध्यक्षमा अर्जुन कार्की आएपछि संस्कृति जोगाउने काम गरिएको छ । धेरै राम्रो लाग्यो । उहाँको आव्हानमा २२ वटा पिङ्ग हालिएको छ । एउटा शुभ सन्देश दिएको छ । तल्लो घरको र माथ्लो घरको सम्बन्ध प्रगाढ बनाएको छ । बालबालिका देखि लिएर वृद्ध सम्म आएर पिगमा झुम्भिएको देखिन्छ ।’ प्रद्यानले हामीलाई सुनाए ।
यसपालिको दशैँलाई महत्वपुर्ण बनाउन टोल टोलमा सबैलाई पिङ्गप्रति आकर्षण बढाउन उत्कृष्ट पिङ्ग लगाउने टोल विकासलाई पुरस्कृत समेत गरिने छ ।
मेचीनगर नगरपालिका वडा नम्बर ६ का स्थानीय हाल हङ्गकङ्गमा बसोबास गरिरहेका पुष्पा गुरुङ्ग र नगेन्द्र कुमार गुरुङ्गको परिवारले प्रथम , द्धितीय र तृतीय हुने पिङ्गलाई क्रमश १० हजार, ७ हजार र ३ हजार रुपैँयाको पुरस्कार समेत दिने घोषणा गरेका छन् । त्यसैको लागि कहाँ कस्तो मापदण्डको पिङ्ग बनेको छ भनेर स्थानीय देवी प्रसाद आचार्यको अध्यक्षतामा मापदण्ड हेर्ने समेत काम भएको छ । आफुहरुले बालमैत्री पिङ्गको अवधारणा ल्याएको र सबै पिङ्गहरु राम्रा बनेको साँस्कृतीक टोलीका अध्यक्ष हेमकुमार प्रद्यानले बताए ।