काठमाडौंः देशका विभिन्न भागमा चार दिनदेखि भईरहेको बर्षा अझै रोकिएको छैन् । आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

विभागले आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखी धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत  दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

_NarayaniFlood_ob7bjvWcWR

हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण मनसुनी प्रणाली सक्रिय छ । 

उता कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । र, थप पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत उक्त जिल्लाको साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भन्दै विभागले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजे सम्म सतर्क रहन भनेको छ । 

पछिल्लो ३ घण्टादेखि भेरी जलाधारको विभिन्न स्थानमा भारी वर्षा भई जलसतह खतरा तह आसपास पुगेको छ । र, थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको छ । यी क्षेत्रमा थप वर्षा हुने भएकाले साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने विभागले जनाएको छ । दिउँसोसम्म सतर्क रहन विभागले भनेको छ ।