सङ्खुवासभा: सङ्खुवासभाका स्थानीय तहमा कार्यरत कर्मचारीहरूले कर्मचारी समायोजन अध्यादेशको विरोध गरेका छन् ।
सोमबार खाँदबारी नगरपालिका कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले सेवा सुविधा कटौती र समान व्यवहार नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
खाँदबारी नगरपालिकामा कार्यरत कर्मचारीले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानकर्षण पत्र बुझाए । समायोजनमा जाने कर्मचारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी कानुन नबनाई समायोजन अध्यादेश ल्याउन लागिएकाले उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
सरकारले जारी गरेको कर्मचारी संयोजन अध्यादेश आफूहरूको हितविपरीत भएको भन्दै जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकामा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकले असन्तुष्टि जनाएको स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति सङ्खुवासभा संयोजक खेम निरौलाले बताए ।
निजामती कर्मचारी र आफूहरूलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेशविरुद्ध आन्दोलनमा जान बाध्य हुनुपरेको स्थानीय तहमा कार्यरत कर्मचारीहरूको भनाइ छ ।
उनीहरूले स्थानीय तहमा कार्यरत अस्थायी, करार ज्यालादारी कर्मचारीहरूलाई सम्मानित सर्वोच्च अदालतको आदेश समेतका आधारमा विशेष प्रतियोगितामार्फत् स्थायी गर्ने र सेवा अवधि गणनाका आधारमा हुने वृत्ति विकासको सुनिश्चितता गर्न माग गरेका छन् । साथै उनीहरूले अध्यादेश विभेदकारी रहेको आरोप लगाएका छन् ।
सङ्खुवासभामा १० वटा स्थानीय तहमा २ सय बढी करार तथा ज्यालादारी कर्मचारी छन् । केन्द्रबाट एक तह स्वतः बढुवा भएर कर्मचारी आउँदा वर्षौंदेखि स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकासमा असर पर्ने भएकाले आन्दोलनमा उत्रिएको संयोजक निरौलाले बताए ।
आन्दोलनका कार्यक्रमअनुसार मङ्गलबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सबै स्थानीय तहका कार्यालयहरूमा कालो पट्टी बाँधेर कलम बन्द गर्ने कार्यक्रम रहेको बताइएको छ ।