बझाङः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा बाम ­लोकतान्त्रीक गठबन्धका साझा उम्मेदवार नेकपा ( एकीकृत समाजवादी )का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशी र नेकपा एमालेका नेता ऐन महर बीच प्रतिस्पर्धा हुने भएको छ । 

भानुभक्त जोशी बझाङ कम्युनिष्टका संस्थापक नेता हुन् । सरल स्वभावका विकास प्रेमी नेता जोशी जिल्लामा निकै लोकप्रिय कम्युनिष्ट नेता मानिन्छन् । पूर्व बनमन्त्री समेत भइसकेका   जोशी  २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य  निर्वाचित भएका थिए  । 

आसन्न निर्वाचनका लागि बाम­ लोकतान्त्रीक गठबन्धन बीच तालमेल हुँदा बझाङ नेकपा (एकीकृत समाजवादी )को भागमा परेको थियो । 

बाम­ लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोशी २०६४ सालमा आफ्नै स्वकीय सचिव समेत रहेका महर भन्दा जनमतको हिसाबले सशक्त बलियो देखिन्छन् ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेका कारण प्रतिनिधि सभामा जोशीको उम्मेदवारी एमाले नेता महरका लागि भारी पर्ने देखिएको छ ।   

बाम­ लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा  निर्वाचन क्षेत्र नम्बर ‘क’ मा नेपाली कांग्रेसका पृथ्बीबहादुर सिंह र ‘ख’मा नेकपा माओवादी केन्द्रका भिम भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभामा एमालेका तर्फबाट प्रदेश सभा ‘क’मा अफिलाल ओखेडा र ‘ख’ मा एल बी रावल चुनावी मैदानमा छन् । 

बाम­ लोकतान्त्रीक गठबन्धनको कसिलो तालमेल, साझा उम्मेदवार जोशीको व्यक्तिगत छवि तथा वर्तमान चुनावी अङ्कगणितमा एमाले भन्दा भारी मतान्तरले अगाडि रहेका कारण पनि बझाङमा बाम­ लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले टक्कर दिन मुस्किल पर्ने  विश्लेषण गरिएको छ । 

यस्तो छ, अहिलेको मतभार   

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई विश्लेषण गर्ने हो भने बाम ­लोकतान्त्रीक गठबन्धन एमाले भन्दा ८ हजार ३ सय ३२ मतान्तरले अगाडि छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार एक सय ६६, माओवादी केन्द्रले ९ हजार एक सय ४५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । यद्यपि स्थानीय निर्वाचनमा समेत यी दलहरूको चुनावी तालमेल भएका कारण सबै वडामा सबै पार्टीले उम्मेदवारी दिएका थिएनन् ।

स्थानीय तहको निर्वाचनमा सबै पालिकाका सबै वडामा उम्मेदवारी दिएको एमालेले २८ हजार ६११ मत पाएको थियो । यो चुनावी अंकगणितलाई विश्लेषण गर्ने हो भने बझाङमा बाम­ लोकतान्त्रीक गठबन्धन भन्दा एमाले ८ हजार ३३२ मतले पछाडि छ । 

यस्तो छ विगतको नतिजा   

दुई निर्वाचन क्षेत्र हुँदा बझाङ क्षेत्र नम्बर ­१ मा २०४८ र ०५६ मा नेपाली कांग्रेस विजयी भएको थियो भने २०५१ र २०६४ मा नेकपा एमालेको तर्फबाट भानुभक्त जोशीले जित हात पारेका थिए । 

२०६४ को निर्वाचनमा देशभरीबाट नेकपा एमाले ३१ सिटमा खुम्चिँदा बझाङमा भानुभक्त जोशीले एक सिट जितेर सुदुर पश्चिममा एमालेको बिउ जोगिएको थियो । यसैगरी २०७० को निर्वाचनमा पनि बझाङ क्षेत्र नम्बर १ मा नेकपा एमाले बिजयी भएको थियो ।  

उता बझाङ क्षेत्र नम्बर­ २ मा २०५१ मा स्वतन्त्र उम्मेदवार नरेस सिंहले जित हात पारेका थिए भने २०४८ र २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा माओवादी र २०७० मा एमालेले जित हात पारेको थियो । 

२०७४ मा निर्वाचन क्षेत्र हेरफेर भएर सम्पूर्ण जिल्ला एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएपछि माओवादीको समर्थनमा बाम­गठबन्धनका तर्फबाट  भैरब बहादुर सिंह बिजयी भएका थिए  । 

अहिले बाम­ लोकतान्त्रिक गठबन्धनको पल्ला भारी छ 

केहि समय अघिसम्म प्रतिनिधि सभाको सिट दावि गर्दै आएको बझाङको नेपाली कांग्रेसले गठबन्धनको भागवण्डा मिलाउन आफ्नो दाबि छोडेर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई समर्थन गरेको छ ।

बझाङमा नेपाली कांग्रेसबाट अर्जुन जङ्ग बहादुर सिंह, पृथ्वी बहादुर सिंह र नरेश बहादुर सिंहको दावि थियो  ।  कांग्रेसका पृथ्वी बहादुर सिंह बाम­ लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रदेशसभा क को चुनावी मैदानमा छन् ।  

बझाङ कांग्रेसका प्रभावशाली नेताहरु सत्यराज भण्डारी, जनक बुढा, अर्जुन जङ्ग बहादुर सिंह र  नरेश बहादुर सिंह लगायतका नेताहरु एक ढिक्क भएर बाम ­लोकतान्त्रीक गठबन्धनको पक्षमा उभिएका छन्  । 

नेकपा एमाले बझाङका संस्थापक नेता समेत रहेका वर्तमान बाम ­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले एमालेकै करिब ४० प्रतिशस मत काट्ने नाम उल्लेख नगर्ने सर्तमा नेकपा एमाले बझाङका एक पदाधिकारीको स्वीकारोक्ति छ  । आम बझाङी जनतामाझ लोकप्रिय व्यक्तिगत छबिका कारण प्रतिपर्धी एमाले नेता ऐन महरको तुलनामा जोशीले अत्याधिक लोकप्रिय मत पाउने विश्लेषण गरिएको छ । 

बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुवाबी मैदानमा उत्रिएका छन् । काठमाडौंलाई आधार मानेर विद्यार्थी राजनीतिबाट उदाएका महर बझाङका लागि प्रतिपर्धी जोशीको तुलनामा निकै कमजोर देखिन्छन् । 

राजनीतिक योगदान भन्दा पनि  नेताको आर्शिवादले टिकट पाएको आरोप लाग्दै आएका महरको उम्मेदवारीले नेकपा एमाले बझाङ भित्रै चरम असन्तुष्टि छ ।

गत स्थानीय निर्वाचनमा आफ्नै सहोदर भाईलाई आफ्नै वडामा वडा अध्यक्ष समेत जिताउन नसकेका महरका लागि जिल्लामा पुराना र त्यागि नेताहरुलाई पन्छाएर टिकट फुत्काउन सफल भएपनि आसन्न निर्वाचन  जित हात पार्न चाहिँ फलामको च्यूरा चपाउनु जस्तै रहेको चर्चा बझाङका राजनीतिक विश्लेषहरुबीच हुने गरेको छ ।