राजन भट्टराई 

रामधुनीः देशमै व्यवसाय गरेर जिविकोपार्जन गर्ने उद्धेश्यले बंगुर पालन गर्दै आएका रामधुनी ५ का किसान  सन्तोष बञ्जरा अहिले बंगुर बिक्रि नहुँदा निरास भएका छन् । बिगत दुई बर्षदेखि रामधुनी २ कुम्याइमा  २६ कठ्ठा जमिन भाडामा लिएर बंगुर पालन व्यवसाय गर्दै आएका बञ्जराको अहिलो ५० भन्दाबढी बंगुर बिक्रि गर्ने बेला भएका छन् तर किन्न ग्राहक नआउँदा चारो खुवाउँदै पाल्नु पर्दा दैनिक रुपमा अनावश्यक खर्च भइरहेको छ ।

६ बर्ष  बैदेशिक  रोजगारीमा बसेर फर्किएका सन्तोषले आफ्नै परिवारको सक्रियातामा भाइसंगको व्यवसायीक सहकार्यमा परिवारले नै न्यू बञ्जरा कृषि फर्म दर्ता गरेर कृषी व्यवसाय सुरु गरेका हुन् । 

 बंगुरको दाना, औषधी उपचार समेतको खर्च मासिक दुई लाखसम्म हुने गरेको सन्तोषको भनाई छ । बञ्जराले बंगुरका पाठा प्रतिगोटा छ हजारले खरिद गरिए पनी एक वर्ष पालेर बाह्र हजारमा बेच्दा पनि बिक्री नभएको गुनासो गरे । अर्की  बिर्सिका बंगुर फर्म सञ्चालन गर्दै आएकी रसिला राईको पनि उस्तै समस्या छ । गत पाँच वर्ष देखि बंगुर फर्म सञ्चालन गर्दै आएकी राईको फर्ममा बीस वटा माउ बंगुर छन् । बंगुरका बच्चा वेचेर आम्दानी गर्ने उदेश्यले सञ्चालन गरेको फर्ममा अहिले सय भन्दा बढी पाठा बिक्रि गर्ने बेला भएपनि बिक्रि नभएको उनको गुनासो छ । बेच्न बजारमा लिएर जाँदा  प्रतिगोटा पाँच  सयमा पनि बिक्रि नभएको र पाल्न पनि नसक्ने अवस्थामा पुगेको उनले बताइन् । 

महिनामा दुईलाख भन्दा बडि खर्च हुँदा व्यवसायबाटै पलायन हुने अबस्थामा आइसकेको  राई बताउँछिन् । यो अवस्था आउँदासंम्म स्थानीय सरकारले एउटा वीउका लागि बुच्चा दिनु भन्दा पनि  केही नपाएको उनको भनाई छ ।

 रामधुनी नगरपालिकाले भने बजारमा खासै समस्या नभएको बताएको छ । बंगुरको मासुमा पालिका आत्मनिरभर भईसकेको र छिमेकी पालिका पनि आत्मनिर्भर भैसकेको हुँदा बजारमा केही समस्या आएपनि  चाँडै समाधान हुने रामधुनी पशु सेवा शाखाका दुर्गा प्रसाद पराजुली बताउँछन् ।