इटहरीः नेकपाकी नेतृ भगवती चौधरीले आफूलाई बद्नाम गर्ने उद्देश्यले केही सञ्चारमाध्यममा समाचार आएको बताएकी छिन् ।
नेपाल आर्मीको लप्टन भन्दै ठगी गर्दै हिँड्ने व्यक्तिलाई बडीगार्ड बनाएको भनेर समाचार आएपछि उनले त्यसको प्रतिवाद गरेकी हुन् । केही दिन अघि सुनसरीको दुहबीबाट नक्कली सेना बनेर विभिन्न व्यक्तिलाई ठगी गर्ने सुगम ठकुरी पक्राउ परेका थिए ।
पक्राउ परेका ठकुरी नक्कली सेना भएको र उनलाई चौधरीले प्रतिनिधिसभा निर्वाचनमा समेत प्रयोग गरेको भन्दै केही सञ्चार माध्यममा समाचार आएको थियो । सोही समाचारको खण्डन गर्ने क्रममा नेकपाकी केन्द्रीय सदस्य चौधरीले आपत्ति प्रकट गर्दै आफूले कसैलाई पनि बडीगार्ड नराखेको स्पष्ट पारेकी हुुन् ।
सोमबार विज्ञप्ति प्रकाशित गर्दै चौधरीले सुगम ठकुरीलाई प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगरेको तर ठकुरी आफ्नो छोराको सम्पर्कमा आएर अनुचित लाभ उठाएको बताएकी छिन् ।
चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ठकुरी सुनसरीको दुहबीकै व्यक्ति भएकाले छोरासँग सम्पर्कमा रहेको बताएकी छिन् । सोही क्रममा निर्वाचनभन्दा धेरै पहिले ठकुरीसँग देखादेख भने भएको उनको भनाइ छ ।
ठकुरीले त्यतिबेला चौधरीलाई आफू सेनामा भर्ती हुने तयारीमा रहेको बताएका थिए । सेनामा भर्ती हुने क्रममा आफ्नो नाम लिएको थाहा पाएपछि त्यसबारेमा आफूले स्पष्ट जानकारी दिइसकेको उनले बताएकी छिन् ।
चौधरीका अनुसार ‘म भगवती चौधरीको छोरा हुँ’ भनेर ठकुरीले भनेपछि सेनाका कर्नेल लक्ष्मीभक्त श्रेष्ठ र मेजर केशव कार्कीले चौधरीलाई फोन गरेका थिए । त्यसको जवाफ दिने क्रममा आफ्नो एक मात्र छोरा देहरादुनमा अध्ययनरत भनी आफूले बताएको उनले उल्लेख गरेकी छिन् ।
उनले ठकुरी आफ्नोे छोरासँग कहिलेकाहीँ चुनावी कार्यक्रममा आएको हुन सक्ने तर बडीगार्ड नै राखेको चाहिँ नभएको बताएकी छिन् ।
निर्वाचनका बेला आफूलाई सरकारले नै पर्याप्त सुरक्षा व्यवस्था गरिदिएकाले आफूले कसैलाई पनि सुरक्षाकर्मी नराखेको उनले बताएकी छिन् ।
गलत समाचारले आफ्नो व्यक्तित्व, इमान्दारिता र राजनीतिमै असर पु¥याउने काम गरेको बताउँदै त्यस्ता दुष्प्रचार नगर्न चौधरीले विज्ञप्तिमार्फत् आग्रह गरेकी छिन् । साथै चौधरीले नक्कली सेना बनेर सर्वसाधारणलाई ठग्ने व्यक्तिलाई कारवाहीको माग गरेकी छिन् ।