धरानः धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका पिडितहरुले धरानका मेयर हर्क साम्पाङ्गलाई भेट्दै आन्दोलनका नाममा मेयरको कार्यकक्षमा भएको तोडफोड प्रति क्षमायाचना गरेका छन् । 

मेयरको कार्यकक्ष तोडफोडको घटनाको करिब तीन महिना पछि मेयरलाई भेट्न पुगेका संघर्ष समितिका पदाधिकारीले बिहिबार मेयरालाई भेटेका हुन् । 

उनिहरुले गत साउन १५ गतेको कार्यकक्ष तोडफोड भएको घटनामा गल्ती भएको भन्दै माफीसमेत मागे । 

 बराह संघर्ष समितिका संयोजक श्याम ढकालले संघर्ष समितिकै प्रस्तावमा उपमहानगरले बराहको सम्पत्ति रोक्का गर्न पत्राचार गरेको भन्दैे त्यसो गर्दैमा समस्या समाधान हुने स्थिति नदेखिएको र पीडितहरु पीडाकै अवस्थामा रहने देखिएकोले संस्थालाई चलायमान बनाउन दिने सम्बन्धमा मेयरको ध्यानाकर्षण गराएका थिए  । 

संस्था बन्द गर्दा र सम्पत्ति रोक्का गर्दा  बराह संस्था झन् डुब्ने अवस्था देखिएकोले समझदारीमा जाने निर्णय गरिएको पनि बताए । पटक पटक छलफल गर्दा कानुनी प्रक्रिया अघि बढाउदा पीडितहरुले न्याय पाउने अवस्था नदेखिएको र बराहलाई चलायमान बनाउनु नै उत्तम हुने राय, सुझाव आएकोले संघर्ष समिति पनि सोही निर्णयमा ढकालले सुनाए । 

 सञ्चालक समिति अध्यक्ष शिवकुमार लामिछानेले सहित सबैले आफ्नो व्यक्तिगत सम्पत्ति पनि बेचेर संस्थालाई अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाएकोले अब बराहलाई व्यापार गर्न दिनुपर्ने निष्कर्षमा संघर्ष समिति पुगेको पनि ढकालले बताए । बराह खोल्ने कुरामा हामी एकमत भइसकेको बताउँदै ढकालले  खोलिसकेपछि यो टिम संघर्ष समितिबाट अनुगमन टिममा रुपान्तरण हुने र रेखदेख गरेर सञ्चालन गर्ने सहमतिमा पुगेको ढकालले सुनाए । 

 मेयर साम्पाङले जनताले चाहेकै काम गर्न जनप्रतिनिधि चुनिएको उल्लेख गर्दै संघर्ष समितिको सबै वडाका संयोजकहरुसहितको लिखित निवेदन दिन आग्रह गरे । बराहको रोक्का सम्पत्ति खोल्ने बिषयमा निवेदन आएपछि आफुलाई तोक लगाउन पनि सजिलो हुने र प्रक्रिया अघि बढाउने भन्दै मेयरले भविष्यमा बराहलाई कसरी सञ्चालन गर्ने भनेर संघर्ष समिति अहिल्यै प्रष्ट हुन पनि सुझाव दिए ।

 मेयर साम्पाङले संघर्ष समितिको हरेक गतिविधि पारदर्शी गर्न आग्रह गर्दै सम्पत्ति खुल्ला गर्ने निर्णय, सहमतिलगायत बिषयमा पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी दिन पनि सुझाव दिए । 

बराह सहकारीले सेयर सदस्य तथा वचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछि संघर्ष समिति गठन गरेर आन्दोलन शुरु भएको थियो । बराहको सम्पुर्ण व्यापार, व्यवसाय अहिले ठप्प छ । संघर्ष समितिका अनुसार १८ हजारको हाराहारीमा वचतकर्ताहरु पीडित छन् । कति रकम फिर्ता गर्नुपर्ने भन्ने यकिन नभएपनि १४ अर्ब रकम फिर्ता गर्नुपर्ने देखिएको बताइएको छ ।