सङ्खुवासभाः हातमा सीप र दृढ इच्छाशक्ति भएमा जुनसुकै काममा पनि राम्रो सफलता हासिल गर्न सकिन्छ । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै काम गर्न खोज्ने मान्छेलाई सानातिना अवरोधले छुन सक्दैन ।

काम गरेर खाने वातावरण भएन भनेर सरकार तथा नेतालाई गाली गर्दै विदेश हानिनेहरूका लागि सङ्खुवासभाको खाँदबारीकी सुजना घिमिरे (सुवेदी) गतिलो उदाहरण बनेकी छिन् । स्वदेशमा नै काम गरेपछि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएकी छिन् सुजनाले ।

उनका श्रीमान् माध्यमिक तहका शिक्षक हुन् । तर १ जनाको कमाइले परिवार धान्न समस्या परेपछि सुजनाले सदरमुकाम खाँदबारीमा टेम्पो चलाएर घर धानेकी छिन् ।

उनी जिल्लाकै पहिलो महिला टेम्पो चालक पनि हुन् । उनले टेम्पो चलाएर मासिक ५० हजार आम्दानी गर्दै आएकी छिन् । खाँदबारी–५ की सुजनाले ४ महिना अघिदेखि टेम्पो चलाउन शुरु गरेकी हुन् ।

सुजनाले अरुले गरेको भन्दा फरक ढङ्गले काम गरी आफ्नै खुट्टामा उभिन पाउँदा गर्व लागेको बताइन् । शुरुका दिनमा केही असहज लागे पनि बिस्तारै सहज हुन थालेको उनको भनाइ छ । घरपरिवारको सहयोग पाए पनि टेम्पो चलाउँछु भन्दा समाजले नपत्याएको सुजनाको अनुभव छ ।

जिल्लामा महिला चालक नभएकाले सुजनाले पहिलो पटक टेम्पो चलाउँदा सदरमुकामका मानिसहरूले आश्चर्य मानेका थिए । उनी अहिले आफूले श्रीमान्को भन्दा बढी कमाइ गरिरहेको बताउँछिन् । उनले चार महिनाको अवधिमा २ लाख ५० हजार रुपैयाँ कमाइ भइसकेको बताइन् । सुजना भन्छिन्, ‘गरेदेखि जे पनि हुन्छ, आँट र साहस लिनुपर्छ । आफ्नो कर्ममा कर्तव्यनिष्ठ हुनुपर्छ सफल कुनै हालतमा पनि हुन्छ ।’ उनी भन्छिन्, ‘काम गर्ने जोश जागँर र इच्छाशक्ति चाहिन्छ ।’

जिल्लामै पहिलो महिला टेम्पो चालक हुन पाएको यो पेशाप्रति आफू सन्तुष्ट रहेको सुजनाको भनाइ छ ।