इटहरीः इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी समयमा नआउँदा सेवाग्राही मारमा परेका छन् । सेवा लिन लामो समयसम्म पर्खिँदा पनि विभिन्न फाँटका कर्मचारी नभेटिएको सेवाग्राही सन्देश घिमिरेले गुनासो गरे ।
‘१० बजे त कर्मचारी आइपुग्नुपर्ने हो, तर ११ बजिसक्दा पनि चालचुल देखिएन’ उनले भने ।
इटहरीस्थित घरेलु कार्यालयका निमित्त प्रमुख महिनारायण शाह समयमा कार्यालय पुग्ने गरेका छैनन् । सेवाग्राहीको पटक पटकको गुनासो आउने गरे पनि न उनी कार्यालय समयमा पुग्छन्, न सबै कर्मचारी नै ।
विभिन्न काम लिएर पुग्ने गरेका जनता समयमा काम नहुँदा झण्झट बेहोरिरहेका छन् । सरकारी कार्यालयबाट छिटो र दुरुस्त सेवा दिनुपर्नेमा उल्टै सेवाग्राहीलाई झुलाएको भन्दै सेवा लिन पुगेका जनता आक्रोशित भएका छन् ।
सेवाग्राहीलाई सेवा दिनुपर्नेमा निजी काममा कार्यालयको टेलिफोन प्रयोग गरी सहायक प्रमुख पनि घण्टौँ बोल्ने गरेको कर्मचारी तथा सेवाग्राही बताउँछन् । सहायक प्रमुख बबिता शर्मा राउतले सेवाग्राहीलाई बेवास्ता गर्ने गरेको सेवाग्राहीको भनाइ छ ।