राजन भट्टराई
रामधुनीः सुनसरीको रामधुनी २ का सुरकुमार राई आफ्नो घर छेउको बारीमा दिन रात बिताउछन् । बारीमा काक्रो लटाराम्मै फलेको छ । , केहि टमाटर फूल खेल्न सुरु गर्दै छ भने केही बेर्ना सार्न तयारी अबस्थामा छन् ।
बारीमा उनि मात्रै होइन, उनी श्रीमती पनि संगै दिन कटाउछिन् । उनले र उनको परिवारका अन्य सदस्यहरुले बेरोजगार बस्नु परेको छैन , केहिबेर खेत बारीमा नगए बारीले आफुलाई बोलाईरहेको महसुस हुने श्रीमति राई बताउछिन् । राईको घरछेउको आठ कठ्ठा खेतबारीमा यतिबेला विभिन्न जातका तरकारी लगाईका छन् ।
राईले आफ्नो जीवनको उर्वर समय विदेशमै बिताए । वैदेशिक रोजगारीको क्रममा ११ वर्ष मलेसियामा बिताएका राईले अफ्नै देशमा मेहनत गरे देशमै स्वरोजगार बन्ने योजना बनाएर तरकारी खेती गर्न थलेका हुन् ।
आठ वर्ष देखि तरकारी खेती गर्दै आएका राईले आफ्ना दुई छोरा छोरी यहि तरकारी खेतीबाट कमाएको केही रकमले भेटनरी पढाईरहेका छन् । विदेशमा तरकारी खेतीमा ११ वर्ष काम गरेको अनुभवले सुरु गरेको खेती पहिलो वर्षनै घाटाको अनुभव लिइसकेका उनी अब नेपाली तरकारी खेतीकोलागि आबश्यक अनुभव बटुल्दै सक्षम किसान बन्ने तयारीमा छन् । काम सुरु गरेको केही वर्ष नबित्दै रामधुनी नगरपालिकाले उत्कृष्ट किसान घोषित गर्दै ५५ हजार अनुदान पाएका उनले पुनः एक वर्ष बितेलगत्तै प्रदेश सरकारको नमुना कृषि कार्यक्रम अन्तर्गत पनि उकृष्ट किसान घोषित भएर सात लाख पुरस्कार पाए । अहिले उनले एक वर्षमा एक कठ्ठामा एक लाख भन्दा बढी आम्दानी गर्दै आएको उनको भनाई छ ।
वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्न सफल भएका राई आफु कृषि कर्ममा पूर्ण सन्तुष्ट भएपनि जङ्गली जनावरले धेरै बाली बिनास गरेको गुनासो गरे , निलगाई , बाँदर लगायतका जङ्गली जनावरले धेरै बाली बिनास गर्ने हुँदा यसमा सरकरले यसको समाधान खोज्नु पर्ने उनको भनाई छ ।
उता रामधुनी २ शिवनगरका सुरेन्द्र प्रसाद चौधरीले पनि ३० वर्ष देखि तरकारी खेती गर्दै आएका छन् । दुई कठ्ठा देखि तरकारी खेती सुरु गरेका चौधरीले हाल १० कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । करिब १७ वर्ष देखि वल्डभिजनसंग आबद्द भएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका चौधरीले चितवन झापा लगायत देशका विभिन्न ठाँउमा कृषि अवलोकन भ्रमण गरेका छन् ।
अहिले प्रतिकठ्ठा ५० देखि ६० हजार वार्षिक आम्दानी गर्दै आएका चौधरीले प्रतिकठ्ठा एक लाखसम्म आम्दानी लिन सकिने बताउछन् । आफ्नो व्यवसायबाट सन्तुष्ट चौधरी स्थानीय सरकारबाट पनि सहयोग मिल्दै आएपनि निःशुल्क बितरण गरिएको बीउमा भने उनी असन्तुष्ट छन् । यता रामधुनी नगरपालिकाले आफुसँग कृषि बिज्ञ नभएको र यस्ता समस्यम आएको रामधुनी नगरपालिकाका कृषि शाखा प्रमुख तुलसीराम चौधरीले बताए । कृषि शाखा प्रमुख चौधरीले भने–‘यो विषयका हामी जानकार छौँ तर हामीले कृषि विज्ञ राख्न सकेका छैनै । हामीले यो कुरा पटकपटक उठाईरहदा माथिल्लो निकायले कर्मचारी नपठाउदा यो समस्या आएको हो ।’