विराटनगरः सरकारले सातै प्रदेशमा प्रादेशिक श्रम कार्यालय स्थापना गर्ने भएको छ । श्रम कार्यालय स्थापनाका लागि विराटनगरमा आवश्यक तयारी थालिएको बताइएको छ ।

परीक्षणको रूपमा पहिलो श्रम कार्यालय प्रदेश १ को विराटनगरमा सञ्चालनमा ल्याइने भएको हो । श्रम तथा रोजागर कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलका अनुसार वैदेशिक रोजगारको श्रम स्वीकृती प्रदान गर्ने कार्यक्रम आगामी पुस ८ गतेदेखि औपचारिक शुभारम्भ हुनेछ । श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सो कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्जेलले बताए ।

उनका अनुसार कार्यालयलाई पूर्ण सञ्चालनमा ल्याउन र सेवालाई प्रभावकारी बनाउनका लागि आँखा परीक्षणका लागि आइरिस मेसिन, पाँच थान कम्प्युटर र इन्टरनेट, स्टिकर प्रिन्टर, फिङ्गर प्रिन्ट मेसिन आवश्यक पर्छ । हालसम्म आइरिस मेसिनको व्यवस्थापन भए पनि अन्य आवश्यक सामग्री खरिद प्रक्रियामा रहेको सञ्जेलले बताए ।

कसरी हुन्छ काम
वैदेशिक रोजगार विभागको अनलाइन पद्धतिबाट व्यक्तिगत श्रम स्वीकृति वा पुनःश्रम स्वीकृति लिनका लागि फारम भरिसकेपछि कार्यालयले स्वीकृत प्रदान गर्ने प्रावधान रहेको छ । श्रमिक कसरी विदेश पुग्यो भन्ने कुरा समेत कार्यालयले लगाउने स्टिकरले जानकारी दिनेछ ।

सञ्जेलका अनुसार व्यक्तिगत पहल वा सम्पर्कमा विदेश जानेका लागि प्रदान गरिने श्रम स्वीकृतिको स्टिकर हरियो हुनेछ । मेनपावर वा संस्थागत रूपमा रोजगारीमा जानेका लागि रातो स्टिकर राहदानीमै टाँसिनेछ । गैरकानुनी रूपले कुनै पनि देशमा पुगेका व्यक्तिले माग गरेको अवस्थामा वैधता प्रदानको स्वीकृति पनि कार्यालयले दिने बताइएको छ ।