मनोज भुजेल

इटहरीः  मोरङको गछिया बजारदेखि दक्षिण तर्फको एक डाइसको खालमा केही दिन अघि एक व्यक्तिले झन्डै ५ हजार रुपैयाँ हारेपछि डाइस खेलाउनेसँग विवाद गर्न थाले । विवाद भइरहँदा दुई प्रहरी पनि त्यही डाइसको रमिता हेरिरहेका थिए । विवादले उग्र रूप लिने अवस्था आएपछि प्रहरीका एक सिपाहीले उल्टै विवाद गर्ने व्यक्तिलाई झपार्दै भने ‘खेल्ने बेला खेल्छस्, अनि हारेपछि निहुँ खोज्छस् । भाग !’

 तिहारको माहौलमा प्रहरीको नमिठो गाली खाएपछि ती व्यक्ति गाली गर्ने प्रहरी जवानसँग झोक्किदै ‘गाउँ समाजमा डाइस खेल बन्द गर्नुपर्ने’  भन्दै विवाद गर्न थाले । विवादकै क्रममा ती व्यक्तिले दैनिक ६ हजार रुपैयाँ गछिया प्रहरी चौकीका इन्चार्जलाई बुझाएपछि गछियामा डाइस किन बन्द हुन्थ्यो र ? भन्दै प्रहरीलाई गम्भीर आरोप लगाए । 

 होहल्ला हुन थालेपछि त्यहाँ डाइस खेलाउने एक युवाले ‘दाइ तपाई यहाँबाट गइहाल्नु नत्र राम्रो हुन्न’ भनेपछि ती व्यक्ति डाइसको खालबाट आफ्नो गन्तव्य तर्फ लागेका लागे ।

 यो विवाद प्रत्यक्ष हेरिरहेका एक कपडा व्यवसायीले प्रहरी यो अवस्था हुनुको प्रमुख जिम्मेवार भएको बताए । उनी भन्छन् ‘डाइस एक त गैर कानुनी जवाजन्य खेल हो ।’ गैर कानुनी भएपछि प्रहरीले आफ्नो क्षेत्राधिकार भित्र किन यस्ता खेलहरू सञ्चालन हुन दिनु ? यो सम्पूर्ण दोष गछिया प्रहरी चौकीको हो ।

 व्यवसायीले फेरी थप्दै भने ‘हामीसँग प्रमाण छन्, गछिया बजार अनि अन्य ठाउँबाट प्रहरीले डाइस खेलाए बापत दैनिक हजारौँ रुपैयाँ रकम उठाउने गर्छन् ।’ प्रहरी नै पैसामा बिकेपछि डाइसको नाममा भइरहने यस्ता विवाद सामान्य जस्तो हुन थालेको उनको तर्क छ । ‘त्यसमा पनि खेलाउनेहरूको हिम्मत र दादागिरीको कुरौँ नगरौँ ।’ 

 प्रहरीलाई बारम्बार जानकारी गराउँदा समेत प्रहरीले डाइस खेलाउन नरोकेको स्थानीयको भनाइ छ । एक स्थानीयले भने, ‘प्रहरीको गाडी आउनासाथ डाइसको भिड छरपस्ट हुन्छ । तर प्रहरीको गाडी केही अगाडि पुग्नासाथ खेल पुनः सुरु भइहाल्छ ।’

 उनले प्रहरीकै मिलेमतोमा डाइस सञ्चालन भएको समेत बताए । उनले भने, ‘प्रहरीको मिलेमतो छैन भने कसरी नियमित सञ्चालन हुन्छ, त्यही पनि मुख्य चोकमा ।

 दसैँ यता गछिया प्रहरी चौकी मातहतको बजार क्षेत्रमा खुलेआम डाइसको खाल सञ्चालन हुने गरेको छ । गछिया प्रहरी चौकी मातहतको बलिया, बाँसबारी, गोठगाउँ, तिनपैनी, फिमरा, दुलारीका बजार क्षेत्रमा दिउसैबाट डाइस खेलाइने गरेको छ । 

 यी बजार क्षेत्रमा एक खालबाट मात्र १५ देखि ८० हजार सम्मको खेल हुँदै आएको छ । जसमा एक खालबाट सम्बन्धित प्रहरी इन्चार्जले खेलको हिसाबले ५ देखि ७ हजारसम्म पैसा उठाउने गरेका छन् । 

 दसैँ यता गछिया प्रहरी चौकी मातहतको बाँसबारी र दुलारी बजारमा सबैभन्दा ठुलो खेल भएको छ । एकै दिन बाँसबारी र दुलारीको तिन वटा खालबाट दुई देखि तीन लाख सम्मको खेल भएको स्रोतको दाबी छ । 

 यसरी खुलेआम डाइस भइरहँदा प्रहरी रमिते हुने गर्छ भने प्रहरी आफै डाइसमा पैसा थाप्न व्यस्त देखिने गरेका छन् । कतिपय अवस्थामा प्रहरीले डाइस नियन्त्रण गर्ने बहानामा डाइस खेलाउनेहरूलाई भगाएर खाल र गोटी नियन्त्रणमा लिने गरेको स्थानीयहरू बताउँछन् । 

 स्थानीयहरूले डाइसजन्य खेलका कारण पारिवारिक कलह समेत बढेको बताउँदै प्रहरीले यस्ता गैर कानुनी कुरालाई निषेध गर्नुपर्ने माग दशैदेखि गरे पनि इलाका प्रहरी कार्यालय बेलबारी र गछिया प्रहरी चौकीले वास्ता नगरेको जनाइएको छ ।

 गछिया प्रहरी चौकीका सई सदानन्द यादव आफ्नो कार्य क्षेत्रका बजारहरूमा कुनै पनि गैर कानुनी क्रियाकलाप नभएको दाबी गर्छन् । ‘डाइस खेलेको विषयमा हामीले एक पटक दुई वटा खाल नियन्त्रणमा लिएका थियौ, त्यसपछि अहिले डाइस जन्य खेल सञ्चालन भएको छैन’ उनले भने ।

 इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला डाइस तथा जुवाजन्य खेल नियन्त्रणमा प्रहरी ‘एक्टिभली’ लागेको दाबी गर्छन् । तर डाइस तथा जुवाजन्य खेलमा मान्छे पक्राउ गर्न नसकिए पनि जुवाजन्य सामाग्रीहरू मात्र बरामद गर्न सकेको उनको भनाई छ ।

 ‘डाइस जुवा खेलाइएको सूचना नआएको हैन तर प्रहरी पुग्दा फरार भइसकेका हुन्छन् ’ उनले भने ‘हामी अझै पनि जुवाजन्य खेल नियन्त्रणमा गम्भीर नै छौ ।’