बेलबारीः कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले राखेको कार्यक्रमले बेलबारी नगरपालिकाको काम प्रभावित बनेको छ ।

यहाँ कार्यरत कर्मचारीले २ घण्टा काम ठप्प पारेपछि सेवा लिन आएका जनता मारमा परेका हुन् । कार्यालय समय शुरु भएसँगै स्थानीय तहमा काम गर्ने कर्मचारीले २ घण्टा हातमा कालो पट्टी बाँधेर काम ठप्प पारेका थिए ।

स्थानीय तह जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यरत कर्मचारीलाई २०७४ पुस २१ गतेको फैसला आदेश कार्यान्वयन गर्नुपर्ने कर्मचारीको माग छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीको स्थायित्व तथा निरन्तरता हुनुपर्ने लगायतका ३ बुँद्धे माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।