बेलबारीः नेपाल टेलिकमलाई भोगचलन गर्न दिइएको जग्गा टेलिकमले प्रयोगमा नल्याएपछि नगरपालिकाले सो जग्गा फिर्ता लिने जनाएको छ ।
बेलबारी–३ मा रहेको नेपाल टेलिकमलाई प्रयोग गर्न दिइएको करिब ६ कठ्ठा जग्गा प्रयोगविहीन भएको छ ।
तत्कालीन बेलबारी गाविसले भोगचलनका लागि दिएको जग्गा प्रयोगविहीन भएको हो । टेलिकमले सो जग्गा प्रयोगमा नल्याएपछि नगरपालिकाले जग्गा खालि गरिदिन टेलिकमलाई पटकटक पत्राचार गरे पनि अहिलेसम्म खालि नगरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकालाई आवश्यक पर्ने संरचना बनाउन समेत जग्गा अभाव भएको नगरपालिकाका सूचना अधिकृत महेन्द्र खड्काले बताए । उनले भने, ‘हामी त्यो जग्गा आफै प्रयोगमा ल्याउँछौँ ।’ पूर्वपश्चिम राजमार्गसँगै रहेको जग्गामा टेलिकमले टावर बनाउने बताएको थियो ।
जग्गा प्रयोगमा नआएपछि जनप्रतिनिधिले समेत चासो देखाएका छन् । अब सो जग्गा नगरपालिकाले आफैँ प्रयोग गर्ने मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
यता, नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरले भने जग्गामा निर्माण सामग्री राखिएको जनाएको छ । अहिले जग्गा प्रयोगमा आएको तर गाविससँग भएको सम्झौताको बारेमा भने थाहा नभएको क्षेत्रीय प्रमुख अमरनाथ झाले बताए । टेलिकमले जग्गा भने घेराबारा गरेर राखेको छ ।