विराटनगरः किसानको जीवनस्तर उकास्न मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारले ठूलो मद्दत गर्ने भएको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्ने प्रदेश नं–१ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले बताए ।
कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएको प्याक्टले २०६८ सालमा तत्कालीन कटहरी गाविससँग सम्झौता गरेको थियो । त्यही सम्झौताको आधारमा नेपाल सरकारले २०७४ साल पुसमा व्यावसायिक कृषि व्यापार आयोजनाको काम अगाडि बढाएअनुरुप स्थानीय जनप्रिय मावि कटहरीले चार कठ्ठा २ धुर र कटहरी गाविसले १८ धुर जग्गा उपलब्ध गराएको जग्गामा अहिले अत्याधुनिक कृषि थोक बजार निर्माण भएको हो ।
सो बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल ८ हजार मेट्रिकटन अट्ने बताइएको छ । विराटनगरको सिँगिया नदीसँग जोडिएको सो भवनबाट विगतमा किसानले भोग्दै आएको समस्या समाधान हुने कृषि विकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत प्रकाश डाँगीले बताए ।
नेपाल सरकारले कृषि क्षेत्रमा लागेका किसानको जीवनस्तर उकास्न तथा किसानको उत्पादनलाई व्यवस्थित भण्डारण गर्न काठमाडौँमा पुष्प र तरकारी थोक बजार, बुटवल र विराटनगरमा व्यावसायिक कृषि थोक बजार, जनकपुर र दमकमा पशु बजार खोल्ने निर्णय गरेपछि कृषि क्षेत्र र किसानमा उत्साह पैदा भएको थियो । भूमि कन्सट्रक्सन प्रालिले ठेक्कामा लिई रु १७ करोडको लागतमा एउटा तरकारी थोक बजार र अर्को फलफूल थोक बजारसहित एक अत्याधुनिक भवन पनि निर्माण गरेको छ ।
भवनको लागि प्याक्टले रु १२ करोड र नेपाल सरकारले रु ५ करोड खर्च बेहोरेको कन्सट्रक्सनका प्रोप्राइटर अविनाश बोहराले जानकारी दिए । व्यावसायिक कृषि व्यापार आयोजना काठमाडौंका वरिष्ठ आयोजना अधिकृत दिनेशप्रसाद सापकोटाले सुनसरी, मोरङ, झापा र धनकुटाका किसानलाई लाभान्वित गराउने उद्देश्यले बनाएको यो बजारबाट स्थानीय बजारमा तरकारी र फलफूल सजिलै उपलब्ध हुने विश्वास व्यक्त गरेका थिए । बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टल बनाइएको छ ।