मनोज भुजेल

इटहरीः दुई साताअघि अघि सुनसरीको सीमावर्ती बजार भुटाहामा सञ्चालित एक सहकारी संस्थामा नक्कली नेपाली ५ सय र १ हजार रुपैयाँको नोट भेटियो । सहकारीले आफ्नो ग्राहकलाई दिएको १३ हजारको केही नोटहरूमा शङ्का लागेपछि ग्राहकले नक्कली र सक्कली नोट छुट्ट्याउन खोजे । पाँच सयको नोटमा रङ्ग र हजारको नोटको पानी छापमा फरक पाइएपछि सहकारीले दिएको केही नोटहरू नक्कली भएको पुष्टि भयो । पछि ग्राहक र सहकारीका प्रतिनिधिले उक्त नोट प्रहरीलाई बुझाए ।

यो घटनाको ठिक ५ दिनपछि सुनसरीकै भोक्राहा चिरौली बजारमा एक लागुऔषध प्रयोगकर्ता युवकसँग पाँच सयका ६ वटा नोट स्थानीयले बरामद गरे । लागुऔषधको नशामा रहेका युवकले नास्ता खाएको पैसा तिर्ने क्रममा नक्कली पाँच सयको नोट दिएका थिए । उनले दिएको नोटमा शङ्का लागेर होटेलका सञ्चालनले सक्कली र नक्कली छुट्ट्याए । युवकले दिएको नोट नक्कली भेटियो । युवकको साथमा रहेका पाँच सयका सबै नोट उस्तै थिए । स्थानीय र होटेल सञ्चालकले ती युवकलाई नियन्त्रणमा लिएर नोट कहाँबाट आयो भनेर केरकार गर्न थाले । 

युवकले नोट भारतीय बजारबाट ल्याएको जवाफ दिए । त्यस बेला उनले भनेका थिए, ‘मलाई १० हजार सक्कली नोट दिनुहोस् त्यसको बदला २० हजार नक्कली नोट ल्याइदिन्छु ।’ ती युवकको जवाफ सुनेर त्यहाँ रहेका सबै छक्क परे ।

लागुऔषध प्रयोगकर्ता भएको कारण सीमावर्ती क्षेत्र आवतजावत गरिरहने ती युवकको भनाइले पनि उनको साथबाट बरामद भएको नक्कली नोट भारतीय क्षेत्रबाट ल्याएको पुष्टि भयो । पछि ती युवकलाई प्रहरी समक्ष बुझाउने भनिएपनि उनका अभिभावकले उनलाई घटनास्थलबाट भगाएका थिए ।

यस्तै सुनसरीको बर्जू गाउँपालिकाको एक ग्रामीण क्षेत्रमा समेत नक्कली नोट भेटिएको थियो । स्थानीय व्यक्तिहरूको साथबाट हजारका ५ वटा नोटहरू भेटिएका थिए । उनीहरूले उक्त नक्कली नोटहरू अझै सुरक्षित राखेका छन् । 

शुक्रवार मात्र सुनसरीकै चतरा बजारमा तरकारीको कारोबार गर्ने एक व्यापारीले दुई वटा पाँच सयको नोट नक्कली भेटिएको भन्दै फेसबुकमा फोटो पोस्ट गरेका थिए । इटहरी, धरान र तरहरा बजार क्षेत्रमा पनि नक्कली नेपाली नोट भेटिएको बताइएको छ ।

chatara

नक्कली नोट यसरी समय समयमा भेटिनु नौलो विषय भने हैन । तर निर्वाचनको समयमा नक्कली नोट लगातार भेटिनु गम्भीर विषय हो । सुनसरीमा पछिल्लो दुई महिना यता सीमावर्ती क्षेत्रबाट ठुलो परिणाम नेपाली जाली नोट भित्रिएको स्रोतको दाबी छ । यसले निर्वाचनको समयमा खर्च गरिने रकमहरू मध्ये धेरै जसो नोट नक्कली हुने अनुमान गरिएको छ ।

स्रोतका अनुसार नक्कली नोट भित्राउन राजनीतिक दलका नेताहरूले ‘बिचौलिया’ मार्फत काम गर्ने गरेका छन् । यसले भारतमा नक्कली नोट छपाएर नेपालमा तस्करी गर्ने गिरोह सक्रिय भइरहेको देखिन्छ । ‘यो दुई महिना भित्र लाखौँ रुपैयाँ जाली नोट नाकाबाट भित्रिएको छ, विशेष राजनीतिक दलका नेताहरूले यो रकम भित्राएका हुन्’ स्रोत भन्छ ‘यसले देशको अर्थतन्त्रमा ठुलो असर गर्नेछ ।’ चुनावमा यस्ता नोटहरू भोट खरिद गर्न प्रयोग हुने स्रोत बताउँछ ।

जिल्लाका ग्रामीण बस्ती जहाँ निम्न स्तर तथा अशिक्षित वर्गमा यस्ता जाली नोटहरू विभिन्न बहानामा प्रवाह भइसकेका छन् भने अझै प्रवाह हुने अवस्थामा छ । कोशी, बर्जू, भोक्राहा, हरिनगर गाउँपालिका क्षेत्रमा पछिल्लो केही साता यता गाउँघरमा जाली नोटहरू भेटिरहेका छन् । सीमा क्षेत्रको कमजोर सुरक्षा व्यवस्थापनकै कारण अहिले सुनसरीमा नक्कली नोट लगातार देखिन थालेको स्थानीयको आरोप छ ।

‘निर्वाचनको समयमा जाली नोट देखिनु अत्यन्त संम्बेदनशिल विषय हो’ कोशी गाउँपालिका क्षेत्रका एक शिक्षकले भने ‘नक्कली नोटको कारोबार रोक्न नसकिए यसले मुलुकको मुद्रामा असर पु¥याउँछ ।’ सुरक्षाको दृष्टिकोणबाट पनि यो गम्भीर विषय हो ।

हामी सचेत छौः प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो दुई महिना यता तिन जनालाई नक्कली नोट कारोबारमा संलग्नलाई पक्राउ गरिसकेको छ । देवानगंजबाट नक्कली १ हजार रुपैयाँको ५ थान नोटसहित उनीहरूलाई पक्राउ गरेको हो । यो घटनामा एक बालकले पसलमा सामान खरिद गर्न जाँदा नक्कली नोट पहिचान भएपछि नोट दिने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल बताउँछन् ।

‘पक्राउ परेकाहरूबाट बरामद नक्कली नोटको अनुसन्धान गर्दा नेपालमा नभई बाहिरबाटै उक्त नोट छपाएर ल्याइएको देखियो’ एसपी ढकालले भने ‘बाँकी हामी उनीहरूको कनेक्सन खोतल्दै छौ ।

सुनसरीमा जाली नोटहरू कहाँबाट आए भन्ने प्रश्नमा ढकालले अनुसन्धान भइरहेको बताए । ‘जाली नोटको कारोबार गर्नेहरू विरुद्ध हामी सचेत छौ’ उनले भने । 

315572252-3009655482668399-2623185730066171-n

यस्तो हुन्छ कारोबार

सुनसरीसँग जोडिएको भारतीय बिहार राज्यको सुपौल र अररिया जिल्लामा नेपालीका साथै भारतीय रुपैयाँ र अमेरिकन डलर छपाइ हुने गरेको छ । त्यस्ता गोप्य छापाखानामा हतियारसहितका समूहले पहरा दिएर नोट छाप्ने गरेका छन् । नेपाली नोटमा भने सक्कली रकम बुझाए बापतको दुई गुना बढी जाली नोट पाइने गरेको छ । १ लाख नक्कली नोट नेपालमा पठाउँदा गिरोहले ३३ हजार रुपैयाँ लिने गरेको छ । गिरोहले ५ लाख नक्कली नोट दिएबापत ३३ प्रतिशत सक्कली नोट लिएर थप २ लाख नक्कली सित्तैमा दिने गरेको पनि स्रोत बताउँछ ।

नक्कली नोटको कारोबार गर्ने व्यक्तिहरू सीमा क्षेत्रमा सक्रिय हुन्छन् । उनीहरू मार्फत नै कारोबार हुने गर्छ । तस्करहरूले सीमाबाट उक्त रकम कटाउन अनेक उपाय लगाउने गरेको स्रोत बताउँछ । कतिपय अवस्थामा नक्कली नोट छुट्टाउन समेत मुस्किल हुने गर्छ ।

कसरी थाहा पाउने नक्कली नोट ?

पैसाको कारोबार गर्दा नोटको कागजबारे जानकारी राख्नुपर्छ। नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ भने सक्कलीको खस्रो र कडा हुन्छ । नक्कली र सक्कली नोट चिन्ने अर्को माध्यम हो, सुरक्षण धागो (सेक्युरिटी थ्रेड) सक्कली नोटमा सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ भने नक्कलीमा धागोपछि लेपको रूपमा मात्र राखेको हुन्छ । अपरिचित व्यक्तिसँग ‘क्यास’ को कारोबार नगर्ने, भिडभाडमा सतर्क रहने र बैङ्किङ च्यानलबाट मात्र कारोबार गर्दा नक्कली नोटबाट जोगिन सकिने विज्ञहरू बताउँछन् ।