धनकुटाः राज्यबाट भन्सार छुटमा लिएका एम्बुलेन्स, सहकारी र अस्पतालको अभिलेखमा मात्र सीमित भएको पाइएको छ । धनकुटा जिल्लाबासीका सेवा र सुविधाका लागि भन्दै धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा लिएको को १ च ५६१९ नम्बरको टाटासुमो एम्बुलेन्सको  साइटमा धनकुटा बचत तथा ऋण सहकारी राजविराज सप्तरीलेखि करिब पाँच वर्ष अगाडिदेखि सप्तरी र राजविराज आसपासमा सञ्चालन भइरहेको छ ।

चालकको गतिविधि निगरानी गर्दा चालकले व्यापक दुरुपयोग गरेको भन्दै धनकुटा क्षेत्रका बासिन्दाका लागि सेवा दिने उद्देश्यले भन्सार छुटमा ल्याएको एम्बुलेन्स दशैँ अगाडि लामो समयदेखि जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा नियन्त्रणमा लिएको छ ।

सोधपुछका क्रममा चालक आफैँले किनेको भनेपछि खोजलतास गर्दा सहकारीको नाममा रहेको पाइएकाले कागजात लिएर आउन भनेको र यतिका महिना बित्तिसक्दा पनि सम्बन्धित निकाय मौन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए  । 

प्रहरीले नियन्त्रणमा लिएको उक्त एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा राखिएको छ । उक्त एम्बुलेन्स राजविराज परिसरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खेम घिमिरेका अनुसार गत २०७२ सालमा धनकुटा मोडल अस्पतालले सञ्चालन गर्ने भनी उक्त एम्बुलेन्स लिखित करार सम्झौता गरी अस्पताललाई दिइएको र हालसम्म कहाँ छ यकिन नभएको उनको भनाइ छ । 

अस्पतालका अध्यक्ष इन्द्रमणि पराजुलीले सहकारीबाट एम्बुलेन्स प्राप्त भएलगतै ५ लाख ५० हजार रुपियाँ लिएर स्थानीय व्यक्तिलाई २० वर्षका लागि लिजमा दिएका थिए । सहकारीले अस्पताललाई दिएको एम्बुलेन्समा व्यक्तिको रजाइँ, निवर्तमान सांसद पराजुलीसमेतको मिलेमतो रहेको जिल्लामा चर्चा हुन थालेको छ । प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएपछि छुटाउने पहल नगरी पराजुली चुनाव प्रचारमै व्यस्त छन् ।

सहकारी संस्थाले राज्यबाट कर छुटमा लिएको एम्बुलेन्स अस्पताललाई सञ्चालन गर्न दिएकोमा अध्यक्षले नै सबै अधिकार व्यक्तिमा रहने गरी एम्बुलेन्स बुझाइदिएपछि सहकारी र अस्पतालको रेकर्डमा बाहेक धनकुटामा त्यो एम्बुलेन्स कहिल्यै नचलेको अस्पतालका सञ्चालक लोकेन्द्र कटुवालले जानकारी दिए ।  

सहकारीका सञ्चालक भन्छन् ः सहकारीले अस्पतालका लागि एम्बुलेन्स दिएकोसम्म सुनेका हौं तर रातो छ कि कालो हामीले देख्न पाएनौं । कसले चलाउँदैछ भन्ने पनि हामीलाई थाहा छैन ।

धनकुटा मोडल अस्पताल सञ्चालनमा सहज हुने र स्थानीय जनतालाई पनि सेवा दिन सकिने उद्देश्यले सहकारीले एम्बुलेन्स उपलब्ध गराएको थियो । तर, मोडल अस्पतालले उक्त एम्बुलेन्स एक महिना पनि राम्ररी सञ्चालन नगरी अध्यक्ष पराजुलीले एम्बुलेन्स धनकुटा नगरपालिका वडा नम्बर ३ कागतेका स्थानीय पवन गुरुङलाई २० वर्षका लागि भाडामा दिने सम्झौता गरेर दिएका थिए  । त्यसबापत पाँच लाख ५० हजार रुपियाँ धरौटी राख्नु पर्ने करारपत्रमा उल्लेख छ ।

अस्पतालका अध्यक्षसँग सम्झौता गरेर एम्बुलेन्स लिएका गुरुङले केही समय चलाएपछि धरानमा फार्मेसी सञ्चालन गर्दै आएका चिनजानका साथी साजन चौधरीलाई दिएको बताउनुभयो । जुन जिल्लाका लागि लिएको हो सोहि जिल्लामा सेवा दिनुपर्ने नियम छ ।  

धरानका औषधि व्यवसायी चौधरीले पनि एउटा चालकलाई एम्बुलेन्स जिम्मा लगाए । चालकले एम्बुलेन्स सप्तरीतिर पु¥याए । धनकुटाका जनतालाई सेवा दिने उद्देश्यले खरिद गरेको एम्बुलेन्स लामो समय राजविराज क्षेत्रमा कुदेपछि प्रहरीले निगरानी बढाउँदा एम्बुलेन्स सञ्चालकको ब्यवहार सन्तोषजनक नदेखिएकाले एम्बुलेन्सको व्यापक दुरुपयोग गर्ने, एम्बुलेन्सलाई गजडीको अखडा बनाउने जस्ता गतिविधि भएको ठहर गर्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सुरुमा चालकसहित एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले चालकलाई केही दिन हिरासतमा राखेर छोडेको छ । प्रहरीले आवश्यक कागजातसहित एम्बुलेन्स बुझ्न आउनु भनेर सहकारी र मोडल अस्पताल दुवैलाई खबर गरेको भए पनि दुवै संस्थाले एम्बुलेन्स फिर्ता ल्याउन कुनै चासो दिएको देखिँदैन ।

अस्पतालले २० वर्षका लागि करार गरेर एम्बुलेन्स व्यक्तिलाई हस्तान्तरण गरेका कारण उक्त एम्बुलेन्स संस्थामा फिर्ता आउने सम्भावना नरहेको अस्पतालको बुझाइ देखिन्छ । 

सवारी साधन सञ्चालन गर्न पाउने वैधानिक अवधि २० वर्षभन्दा बढी नहुने भएका कारण मोडल अस्पतालले सहकारीको उक्त एम्बुलेन्स घुमाउरो ढंगले व्यक्तिलाई न्यूनतम मूल्यमा बिक्री गरेको स्थानीयको भनाइ छ ।

एकमुष्ठ पाँच लाख ५० हजार रुपैयाँ धरौटी राखेर एम्बुलेन्स सञ्चालन गर्न दिएको सम्झौता पत्र बनाए पनि मासिक रुपमा भाडा तिरेर एम्बुलेन्स चलाइरहेको धनकुटाका प्रभात गुरुङले जानकारी दिए । 

उनका अनुसार सम्झौता गरेर एम्बुलेन्स भाडामा चलाएको हुँ जतिगर्दा पनि सफल हुन नसकेपछि मैले धरानको साथीलाई सम्झौता गरेर चलाउँन दिएँ । अहिले एम्बुलेन्स सप्तरी प्रहरीले पक्राउ गरेको छ भन्ने सुनेको छु तर सबै कुरा बुझेको छैन । 

प्रहरीले संस्थाले औपचारिक पत्र पठाए नियन्त्रणमा लिएको एम्बुलेन्स छोडिदिने बताएको छ । धरानका औषधि व्यवसायी साजन चौधरी भन्छन्, संस्थाले पत्र लेखेर एम्बुलेन्स छुटाउन पहल गरेको छैन, किन उसले आफ्नो गाडी माया मारिरहेको छ भन्ने कुरा मैले बुझिरहेको छैन ।  गोरखापत्र अनलाइनबाट