विराटनगर/ नेपाली चाउचाउ (नुडल्स) को स्वदेशका साथै भारत र अन्य मुलुकमा राम्रो बजार रहेका कारण उद्योग स्थापना गर्ने प्रतिस्पर्धा बढेको छ । मोरङ–सुनसरी र झापामा एकै पटक तीन ब्राण्डको चाउचाउ उत्पादन शुरु हुन लागेको छ ।
नुडल्सका लागि नेपाली बजारसँगै भारत र युरोपको सर्बियामा उत्पादन गरिरहेको चौधरी गु्रपले सुनसरीको गढी गाउँपालिकामा उत्पादनका लागि संरचना शुरु गरेको छ ।
चौधरी समूहले गढी गाउँपालिकामा २२ बिघा जग्गामा ‘सिजी इन्ड्रस्ट्रियल पार्क’ भित्रै चाउचाउ उत्पादन गर्न उद्योग स्थापनाको काम २०७४ साल माघदेखि गरिरहेको छ । चौधरी समूहका महाप्रबन्धक मधुसुदन पौडेलले भारतमा २७ प्रतिशत र विश्वमा ३ प्रतिशत बजार रहेको वाइवाइको पूर्वी नेपालबाट पनि उत्पादन शुरु गर्ने बताए ।
भारतको विहार, अछाम र उत्तराखण्डसहित ९ स्थान र नेपालमा ७ ठाउँबाट वाइवाइ चाउचाउको उत्पादन र बिक्री हुँदै आएको उनको दाबी छ । चौधरी समूहले १ अर्ब लगानीमा प्रतिघण्टा ४ लाख प्याकेट चाउचाउ उत्पादन हुन सक्ने क्षमताको उद्योग स्थापना गरिरहेकै अवस्थामा विराटनगरको काबरा समूह र झापामा छ उद्योगीको संयुक्त लगानीमा दुईवटा ब्राण्डको नयाँ चाउचाउ समेत बजारमा आउने भएको छ ।
काबरा समूहले दशैं अगाडि नै बजारमा ल्याउने गरी क्वालिटी ब्राण्डको चाउचाउ उत्पादनका लागि मोरङको बुढीगंगा गाउँपालिकामा ७० करोड लगानीमा उद्योग स्थापना गरेको छ । यस उद्योगको प्रतिघण्टा ३८ हजार प्याकेट चाउचाउ उत्पादन गर्ने क्षमता रहेको सञ्चालक सिद्धार्थ काबराको दाबी छ । ३ दशकदेखि क्वालिटी ब्राण्डको बिस्कुट, चकलेट र वेफर उत्पादन गरिरहेको काबरा समूहले भारत र तेस्रो मुलुकमा निर्यातका लागि चाउचाउ उत्पादन गर्ने दाबी गरिएको छ ।
नेपाली बजारमा विश्वास जित्न असहज नहुने भए पनि भारत तथा तेस्रो मुलुकका लागि गुणस्तरीय र स्वादिष्ट चाउचाउ उत्पादन गर्नुपर्ने चुनौती रहेको सञ्चालक काबराले बताएका छन् । झण्डै ४ सय कामदारलाई रोजगार दिने गरी उद्योग स्थापना गरेसँगै वस्तु निकासीको लागि अन्य मुलुकमा बजारको खोजी भइरहेको सञ्चालक काबराको दाबी छ ।
मोरङ र सुनसरीमा चाउचाउ उत्पादनका लागि लगानी बढ्ने क्रममा रहँदा झापामा समेत ६ जना उद्योगीको संयुक्त लगानीमा मनसा थाई फुडले मगमग ब्राण्डको साउन महिनादेखि उत्पादन शुरु गर्ने भएको छ । मनसामा पर्शुराम अग्रवाल, अजय अग्रवाल, ओम अग्रवाल, नितेश अग्रवाल, गणेश प्याकुरेल र शारदादेवी गोयलको संयुक्त लगानी रहेको सञ्चालक प्याकुरेलले जानकारी दिएका छन् ।
सञ्चालक प्याकुरेलका अनुसार परीक्षण उत्पादन गरिरहेको मनसाले साउनको पहिलो हप्ता नेपालका मुख्य बजारमा एकै पटक मगमग चाउचाउ बिक्रीका लागि ल्याउने भएको छ । झापा मेचीनगर–१४ मा ५० करोडको लागतमा सञ्चालन हुने उद्योगले ३ सय जना कामदारलाई रोजगारी दिने प्याकुरेलको दाबी छ । मनसाले ८ घण्टामा २ लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन गर्ने क्षमता राख्ने बताइएको छ ।
यसैगरी, बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि विराटनगरमा चाउचाउ उद्योग स्थापना गर्ने प्रक्रिया थालेको छ । विराटनगरमा सूर्य गार्मेन्टको ६ बिघा जग्गामा कन्फेसनरी उद्योग स्थापना गरिसकेको सूर्य नेपालले चाउचाउ उद्योग स्थापनाको प्रक्रिया थालिसकेको कम्पनीका सह–प्रबन्धक रवि केसीले जानकारी दिएका छन् । उनका अनुसार चाउचाउसँगै अन्य खाद्य सामग्री उत्पादन गरी भारत तथा अन्य मुलुकमा निर्यात गर्ने योजना रहेको छ ।
विराटनगरमा एशियन थाइ फुड्स प्रालिले रमपम चाउचाउलाई खैरो र सेतो रङमा उत्पादन गरी बजारमा बिक्री गरिरहेको छ । उद्योगका सञ्चालक महेश जाजूले केही समय भित्रै टुपिएम चाउचाउको पुनर्उत्पादन गरेर नेपाली बजारसहित बाहिर मुलुकमा निर्यात गर्ने दाबी गरेका छन् । ‘प्रतिस्पर्धाको बजारले सबै उद्योगलाई फाइदा हुन्छ,’ उद्योगी जाजूले भने, ‘गुणस्तरीय उत्पादन हुन सक्दा विदेशमा चाउचाउको बजार धेरै राम्रो छ ।’