इटहरीः १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी लाइसेन्स लिन चाहनेका लागि प्रशिक्षण दिएको छ ।
कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार चालकको लापरवाहीका कारण पनि दुर्घटना भएको पाइएको हुनाले चालक अनुमतिपत्रका लागि आवेदन दिएकालाई ट्राफिक नियमको बारेमा जानकारी गराइएको हो ।
उता, ट्राफिक प्रहरी पोष्ट बेलबारीले बेलबारी–२ मा ट्याक्टर चालकहरूलाई भेला गरी दुर्घटनाको स्थिति, दुर्घटनाका कारण, सवारी चलाउँदा अपनाउनु पर्ने सावधानी, दुर्घटनाबाट बच्ने र बचाउने उपाय लगायतका विषयमा प्रशिक्षण दिएको थियो ।
उदयपुरको त्रियुगा–६ जलजलेमा पनि स्थित १० जना ट्याक्टर चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेशकुमार चौधरीले क्षमताभन्दा बढी सामान ढुवानी गर्दा हुन सक्ने जोखिम र सवारीलाई ओभरटेक कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको बताइएको छ ।