मनोज भुजेल

इटहरीः भोजपुरमा कार्तिक ३० गते सत्ता गठबन्धनले आयोजना गरेको सभा नजिकै बम विस्फोट भयो । जहाँ बम विस्फोट गराउने व्यक्ति स्वयम घाइते हुन पुगे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैँले बोकेको बम विस्फोट भएर घाइते भएका थिए । प्रहरी अनुसन्धानले उनले बोकेको बम ‘हाई एक्सप्लोसिव’ नभई नर्मल सुतली बम भएको जनाएको छ ।

उनको खुट्टामा चोट लागेको छ अनुसन्धानको क्रममा घाइते श्रेष्ठ भोजपुरकै एक स्थानीय पत्रिकामा कार्यरत पत्रकार हुन । उनले पत्रकारको आवरणमा सभा नजिकै बम विस्फोट गराउने योजना बनाए पनि बम आफैँ पड्किएको थियो । प्रहरीले उनी आबद्ध पत्रिकाको प्रेस कार्ड समेत बरामद गरेको छ । पत्रकार भए पनि उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा आबद्ध व्यक्ति हुन् ।

 शुक्रवार बिहान ताप्लेजुङको फुङलिङ नगरपालिका २ को एक मतदान स्थल नजिकै मोबाइलजडित बम बरामद भयो । एक विद्यालयको नजिकै बास घारीमा रेडबुलको डब्बामा मोबाइल जडित बम बिहान भेटिएपछि सेनाले उक्त बम डिस्पोज गरेको थियो ।  ताप्लेजुङका डिएसपी कैलाश राईका अनुसार मतदान स्थल आसपास सुरक्षित गर्ने क्रममा उक्त बम बरामद भएको बताए ।

१ नं प्रदेशमा अहिलेसम्म यी दुई जिल्लामा मात्र निर्वाचन बिथोल्ने गतिविधि देखिएका छन् । जसमा प्रत्यक्ष रूपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हात रहेको प्रहरीको दाबी छ । प्रदेशका अन्य जिल्लामा पनि नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन बिथोल्ने गतिविधि गर्न सक्ने अनुमान प्रहरीको छ । त्यसको लागि १ नं  प्रदेश प्रहरी कार्यालय विराटनगरले १४ जिल्लाका प्रहरीलाई ‘स्टेनबाई’ अवस्थामा राखेको छ ।

निर्वाचन बिथोल्ने समूहका नेता तथा कार्यकर्ता एक एकको निगरानी गरिरहेको प्रहरीले माथिको आदेश आउन साथ उनीहरूलाई एकै साथ उठाउने रणनीति बनाएको छ ।

‘बोल्ने एउटा व्यबहार अर्को देखाउने समूह हाम्रो निगरानीमा छन्, हामी पूर्व तयारीमा छौ’ १ नं प्रदेशका डिआइजी सुदिप गिरीले अपराध न्यूजसँग भने ‘प्रहरी स्टेनबाई छ ।’ गिरी भन्छन् ‘निर्वाचन बिथोल्ने कार्य हुन्छ भन्ने हामीलाई स्पष्ट सूचना थियो । उनीहरूको गतिविधि बढे हामी कानुन अनुरूप एक्सनमा जान्छौ ।’ 

डिआइजी गिरीका अनुसार शंकास्पद वस्तुहरू फेला पर्नुका साथै विस्फोटनका घटनाहरू हुन थालेपछि प्रदेश १ मा सुरक्षा सतर्कता थप बढाइएको छ ।

सुरक्षा अधिकारीहरूका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुख्य सुरक्षा चुनौतीको रूपमा देखिए पनि अन्य समूह पनि सुरक्षा चुनौतीको रूपमा छन् । चुनाव बहिष्कार गर्ने निर्णय गरेका आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी)ले निर्वाचनमा सुरक्षा चुनौती ल्याउन सक्ने सुरक्षा निकायहरूको निष्कर्ष छ ।