खोटाङः डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ ।
वि.सं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान् न्सँगै थप उपचारका लागि काठमाडौं पठाइएको छ । विवाह भएको ७ वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् ।
‘तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,’ अध्यक्ष राईले भने । काठको टाँड बनाएर चारैतिर जाली राखेको ठाउँबाट तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उनको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीले बताएका छन् ।
तामाङको उपचारका लागि तत्काल १० हजार सहयोग गरिएको अध्यक्ष राईले बताए । तामाङका श्रीमान् एक छोरी र एक छोरा छन् ।