झापाः झापा जिल्लाको मेचीनगर नगरपालिकाका नेकपाका नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएको बताइएको छ ।

उनको खोजी शुरु भएको पार्टी तथा परिवारले जनाएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलाबारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा उनी रहेका थिए । मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान साढे ९ बजेदेखि उनी सम्पर्कविहीन भएका हुन् ।

भण्डारीकी पत्नी गीताका अनुसार बुधबार बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर उनी घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन् । भण्डारीले आफ्नो माटरसाइकल र आफूले प्रयोग गर्ने २ वटा मोबाइल पनि घरमै छोडेको पत्नी गीताले बताइन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भण्डारी सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजीका लागि प्रहरी परिचालन गरिएको बताए ।

घरनजिकै रहेको हिमालयन मल्टिपलप कलेजमा बुधबार बिहान ८ बजेतिर आएर त्यहाँबाट घर फर्किएको कलेजले जनाएको छ । प्रहरीले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उनीसँग आर्थिक कारोबार भएकाहरूसँग बुझ्ने काम गरिरहेको बताएका छन् ।