इटहरीः नेपाल पत्रकार महासङ्घ प्रदेश १ ले आज विराटनगरमा राष्ट्रिय पत्रकार सम्मेलनको ‘होस्ट’ गर्दैछ । विभिन्न जिल्ला दौडपछि प्रदेश पत्रकार महासङ्घका पदाधिकारीहरूले कार्यक्रमको सबै तयारी मङ्गलबार नै पूरा गरेका थिए ।
आज बिहान ८ बजेबाट शुरु भएको सम्मेलनमा देशभरका पत्रकार तथा पत्रकारका नेताहरू विराटनगर आइपुगेका छन् । केन्द्रीय पदाधिकारीहरूसहित सदस्यहरू, प्रदेश समिति, असोसिएट शाखा, जिल्ला शाखा सहभागी भएको कार्यक्रममा २ सय हाराहारी सहभागी भएका छन् ।
बुधबार साँझ विराटनगर आएका सहभागीहरू आज बिहान प्रदेश मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कार्यक्रममछि बन्द सत्रमा सहभागी हुनेछन् । कार्यक्रम होटल एसियाटिकमा भइरहेको छ ।
बन्दसत्रमा पत्रकार शिव गाउँले, तारानाथ दाहालसँगै महासङ्घ अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट लगायतका विभिन्न ५ प्रतिवेदन प्रस्तुत हुनेछन् । विराटनगरमा बन्दसत्रको छलफल सकेर पत्रकार महासङ्घ केन्द्रीय समितिको बैठक धनकुटाको सुन्दर ल्याण्डफिल साइटमा बस्ने भएको छ ।
नेपाल सङ्घीयतामा गएपछि संस्थागत रूपमा प्रदेशहरू बनेपछि भएको यो पहिलो राष्ट्रिय पत्रकार सम्मेलन भएकाले धेरै महत्वपूर्ण हुने महासङ्घको प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल बताउँछन् । यो सम्मेलनमा केही पार्षदबाट बन्ने केन्द्रीय समितिलाई परिवर्तन गरेर प्रदेश पत्रकार महासङ्घजस्तै प्रत्यक्ष चुनावको बहस हुने लुइँटेलले बताए । प्रत्यक्ष चुनाव हुँदा नक्कली पत्रकारहरू महासङ्घको सदस्य बन्ने अवस्था नआउने लुइँटेलले बताए ।
यस्तै, प्रदेश १ पत्रकार महासङ्घका महासचिव विवेक गौतमले पनि यो सम्मेलनले नेपाल पत्रकार महासङ्घको साङ्गठानिक ढाँचा र लोकतान्त्रिक अभ्यास झनै व्यवस्थित बनाउन बहस गर्ने बताए । उनले भने, ‘जिल्ला शाखा, प्रदेश शाखा र केन्द्रको चुनाव भिन्नभिन्न तरिकाले तीन पटक हुँदै आएको छ । तर, अब एकै लटमा सबै चुनाव हुने र सबैको सहभागितामा नेतृत्व चयन गर्ने बारेमा बहस हुनेछ यो राष्ट्रिय पत्रकार सम्मेलनमा ।’
’