इटहरीः इटहरीको फुटपाथमा जाडोको तयारी कपडा बेच्ने व्यापारीलाई नगर प्रहरीले हटाएको छ ।
विशेष गरी अन्य पसल बन्द हुने दिन अर्थात् बिहीबार इटहरीको धरानलाइनको पूर्वतर्फ यस्तो बजार लाग्ने गरेको छ । सो बजारमा नक्कली र सिलाइबुनाइमा खराबी आएका कपडा राखिने गरेको सटरमा व्यापार गर्दै आएका व्यापारी बताउँछन् ।
सामान्य व्यापारीदेखि इटहरीका होलसेल व्यापारीले पनि सडकमा यसरी सामान बिक्री गर्न राख्न लगाएको व्यापारीको भनाइ छ । पुराना भइसकेका सामानलाई हटाउन होलसेल व्यापारीले नै पसलको भन्दा सस्तो दाममा कपडा बेच्ने गरेको एक व्यापारीले बताए ।
व्यापारीको अनुरोधपछि फुटपाथमा पसल नराख्न इटहरी उपमहानगरले हिजो माइकिङ गरी अनुरोध पनि गरेको थियो । तर व्यापारीले नगरको अनुरोध नमानेपछि आज नगरप्रहरीले फुटपाथमा पुगेर सामान उठाएको हो ।
फुटपाथबाट सामान नहटेसम्म नगर प्रहरी कडा रुपमा प्रस्तुत हुने उपमहानगरपालिकाले बताएको छ ।