बेलबारीः सङ्घीय सरकारले ल्याएको कर्मचारी समायोजन ऐन २०७५ को विरोध गर्दै कर्मचारीले गरेको आन्दोलनले सेवाग्राही मारमा परिरहेका छन् ।
बेलबारी नगरपालिकाका कर्मचारीले केन्द्रको निर्देशनमा विभिन्न माग राखी आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा मन्त्रीदेखि सचिव सम्मको क्यारिकेचर गरेर विरोधका कार्यक्रम जारी राखेका छन् ।
जन्मदर्तादेखि नागरिकता बनाउने सिफारिश लिन आउनेसम्मका काम ठप्प पार्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित तथा सचिव दिनेश थपलियाको क्यारिकेचर कर्मचारीले गरेर विरोध जनाएका हुन् ।
कर्मचारीको आन्दोलनका कारण सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका छन् । वडा कार्यालयमा दैनिक सिफारिश लिन आउनेदेखि नगरपालिकाको केन्द्रमा विकास निर्माणको आयोजना कार्यान्वयनका लागि आउने सेवाग्राही मर्कामा छन् । स्थानीय सरकारको काम गर्ने सिजन शुरु भएसँगै कर्मचारीले थालेको आन्दोनले स्थानीय सरकारलाई समेत समस्या भइरहेको छ ।
आन्दोलनका नाममा सेवाग्राहीका काम प्रभावित नपार्न कर्मचारीलाई मेयरको निर्देशन
कर्मचारीको आन्दोलन दिनप्रतिदिन बढ्दै जान थालेपछि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले साङ्केतिक आन्दोलन गर्न निर्देशन दिँदै सेवाग्राहीलाई नै असर पर्ने गरी काम ठप्प नपार्न कर्मचारीलाई निर्देशन दिए । ‘हातमा कालो पट्टी बाँध्नुहोस् तर कलम ठप्प पारेर आन्दोलन नगर्नुहोस्’, उनले भने, ‘सङ्घीय सरकारको रिस स्थानीय सरकारमा नपोख्नुहोस् ।’