इटहरीः प्रदेश नं १ मा अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो भएको भन्दै सर्वत्र बहस शुरु भएको छ । सर्वप्रथम औपचारिक रूपमा गत मंसिर २४ गते नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रदेश नं १ मा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको औँल्याए ।
देश क्रमशः राजनीतिक स्थायित्वतिर उन्मुख हुँदै गएका कारण अब आर्थिक क्रान्तिको पालो रहेको भन्दै उनले त्यसको लागि न्यूनतम पूर्वाधार तयार पार्न लागि पर्नुपर्ने बताए । सङ्घीय सांसदसमेत रहेका भट्टराईले प्रदेश १ मा पर्यटनको उच्च सम्भावना रहेकाले भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायत छिमेकी मुलुकका पर्यटक भित्रिने भन्दै त्यसको सहजताका लागि विमानस्थल आवश्यक रहेको तर्क गरे । प्रदेश १ मा पर्यटनको र कृषिको उच्च सम्भावना रहेको भन्दै उनले कृषि उत्पादन निर्यात र पर्यटक आयात गर्ने गरी काम गर्नुपर्ने बताएका थिए ।
त्यसको १० दिन पनि बित्न नपाउँदै विराटनगर आएका भारतीय राजदूत मञ्जित सिंह पुरीले प्रदेश १ मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताए । नेपाल र त्यसमाथि पनि प्रदेश १ भारतको सबैभन्दा ठूलो व्यापारिक हब भएको हुनाले स्थल, जल र हवाई यातायातको सिधा सम्पर्क प्रदेश १ सँग हुनपर्ने उनको भनाइ थियो । प्रदेश १ नै भारतका बिहार, पश्चिम बङ्गाल र सिक्किमसँग जोडिएको बताउँदै पुरीले रेल र जलमार्ग बनेपछि झनै राम्रो व्यापार हुने बताए ।
यसै विषयमा प्रदेश सरकारले पनि आफ्नो काम अगाडि बढाएको छ । प्रदेश सरकारका पर्यटनमन्त्री जगदीश कुसियत प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेरै प्रदेश १ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गरिसकेको बताउँछन् । प्रदेश सरकाले मात्र उक्त काम गर्न नसक्ने भएपछि सङ्घीय सरकारको सहयोगको लागि पत्राचार भइसकेको उनले बताए ।
हालको १ हजार ५ सय मिटरको रनवेलाई बढाएर ३ हजार मिटरको बनाउनको लागि पहल शुरु भएको उनले जानकारी दिए । यस विषयमा मुख्यमन्त्री शेरधन राई एकदमै सकारात्मक देखिएकाले काम हुनेमा विश्वस्त हुनुपर्ने उनी बताउँछन् ।
छिमेकी देशका पर्यटकलाई प्रदेश १ मा भित्र्याउने र लगानीको वातावरण सिर्जना गर्नको लागि पनि अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको उनको भनाइ छ । प्रदेश १ मा अन्तर्राष्ट्रिय विमानस्थल भयो भने यस प्रदेशबाट बाहिर गएका युवा सिधै आफ्नो घर आउन पाउँछन् जसले गर्दा उनीहरूले ल्याएको केही पैसा यसै प्रदेशमा लगानी हुन्छ र प्रदेश समृद्ध बन्छ भन्ने उनको बुझाइ छ ।