विराटनगरः मोरङका उत्तर पूर्वी समुदायिक वनमा पछिल्लो समय दुर्लभ वन्यजन्तुको चोरी सिकारी बढेर गएको छ ।
प्रहरी र वन कर्मचारीको उपस्थिति कम हुने वन क्षेत्रलाई लक्षित गरेर चोरी सिकारी गर्ने समूह सक्रिय भएको हो । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ को मनकामना सामुदायिक वनमा चित्तल मार्दै गर्दा पथरीशनिश्चरे १ का ३९ वर्षीय प्रकाश भनिने रत्नबहादुर धिमाललाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।
प्रहरीले मङ्गलबार साँझ पनि केराबारी गाउँपालिका–८ बाट २ थान लोड गरिएको अवस्थाको भरुवा बन्दुक बरामद गरेको थियो । चित्तल मार्ने धन्दामा संलग्न व्यक्ति पक्राउ पर्नु र वन क्षेत्रबाट बन्दुक बरामद हुनुले पनि वन्य जन्तुको चोरी सिकारी गर्ने समूह सक्रिय भएको पुष्टि हुने प्रहरीले जनाएको छ ।
चित्तल मार्दै गर्दा पक्राउ परेका धिमालका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले चित्तल मार्न प्रयोग गरिएको एउटा भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकसँगै त्यसमा प्रयोग हुने छर्रा, बारुद, बिजुलीको तारबाट बनाइएको पासो, खुकुरी, कपडा समेतका सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।
पक्राउ परेका धिमालविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाइसकेपछि अर्को कारवाहीका लागि धिमाललाई वन कार्यालयको जिम्मा लगाइने बजगार्इंको भनाइ छ । उनका अनुसार सामुदायिक वनमा भेला भएकाले चित्तल मारिरहेका छन् भन्ने गोप्य सूचना आएपछि दिउँसो साढे २ बजे घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीलाई देख्नासाथ अन्य व्यक्ति भने फरार भएको र धिमाल पनि भाग्न खोज्दै गर्दा घेरा हालेर नियन्त्रणमा लिइएको प्रनि बजगाईंको भनाइ छ । फरार रहेकाहरूको पहिचान र खोजी गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चित्तल मार्ने धन्दामा वन्युजन्तुको चोरी सिकारी गर्ने समूहको संलग्नता रहेको खुलेको छ । बन्दुक हानेर मारिएको चित्तलको बायाँ पातोमा गहिरो चोट लागेको छ । चित्तल अन्दाजी दुई वर्ष जतिको र भाले प्रजातिको रहेको प्रहरीले जनाएको छ । घटनास्थल पथरी बजारबाट लगभग साढे किलोमिटर टाढा छ । चित्तल मारेर आगोमा पोलिसकेपछि मासु भाग लगाउने तयारी गर्दै गर्दा प्रहरी पुगेको थियो ।
पक्राउ परेका धिमाल र घटनामा संलग्न अन्य व्यक्ति लामो समयदेखि वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको खुलेको छ । अवैध हतियारको प्रयोग गर्दै वन्यजन्तुको चोरी सिकारी गर्ने समूह सक्रिय रहेको खुलेपछि वन क्षेत्रमा निगरानी बढाइएको बजगाईंको भनाइ छ ।