प्रकाश बञ्जरा

इटहरीः मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला धेरै जनताले पुराना नेतालाई विदा दिएका छन् । 

हेवी वेट मानिएका नेताहरु परास्त हुनुलाई पनि राजनितिमा नयाँ सिराबाट अघि बढ्ने आंकलन गरिएको छ । भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो निर्वाचनमै संघमा ७ वटा सिट जितिसकेको छ भने समानुपातिकमा समेत राम्रै मत ल्याएको छ । 

यस्तै पार्टीको उदयकै कारण पनि हेवी वेट मानिएका बिभिन्न पार्टीका नेताहरु यस पाला जनताको रोजाईमा परेनन् । 

मोरङ्ग ३ बाट नेकपा एमालेका भानुभक्त ढकाल बढारिएका छन् । अघिल्लो अर्थात २०७४ सालको निर्वाचनमा भारी मतान्तरले नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मालाई सोही क्षेत्रबाट जितेका ढकाल यसपाला उनै सुनिल शर्मासँग ठुलो मतान्तरले हार व्यहोर्न वाध्य भए । ढकाल करिव २३ हजार मतले हारेका छन् । 

यता मोरङ्गबाटै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पनि बढारिएकी छन् । कोइराला परिवारको विरासत जोगाउने आशा गरिएकी कोइरालालाई नेकपा एमालेका ऋषिकेश पोखरेलले हराए । मोरङ्ग क्षेत्र नम्बर २ बाट चुनावि प्रतिस्पर्धामा उत्रिएकी कोइरालाले ३१ हजार ९४० मत ल्याउँदा पोखरेलले ३३ हजार १४८ मत ल्याएर जित निकाल्न सफल भए । 

यता हेवी वेट नै मानिएका नेकपा एमालेका लालबाबु पण्डित कांग्रेस नेता डा. शेखर कोइरालासँग करिव १२ हजार मतले हार व्यहोरेका छन् । नेपाली कांग्रेसका उम्मेद्वार शेखर कोइरालाले ३५ हजार २१८ मत ल्याउँदा नेकपा एमालेका लालबाबु पण्डितले २२ हजार ९३२ मत पाएका थिए । 

यसैगरी नेपाली कांग्रेसको लामो राजनितिक इतिहास बोकेका कृष्ण प्रसाद सिटौला झापाबाट बढारिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले सिटौला विरुद्ध जित निकालेका छन् । 

यसैगरी हेवी वेट मानिएका नेकपा एमालेका उम्मेद्वार एंव प्रदेश एकका पहिलो मुख्यमन्त्री शेरधन राई भोजपुरबाट बढारिएका छन् । अघिल्लो निर्वाचनमा प्रदेश सभामा रहेका राई यसपालि प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धामा थिए । राईलाई नेकपा माओवादीका उम्मेद्वार सुदन किराँतीले हराए । किरातीले २८ हजार ५७८ मत पाउँदा शेरधन राईले २६ हजार १९३ मत पाएका थिए । 

यस्तै हेवी वेट मानिएका नेकपा एमालेका नेता एंव अघिल्लो संसदमा प्रमुख सचेतक विशाल भट्टराई खोटाङ्गबाट बढारिएका छन् । विशाललाई गठबन्धनको तर्फबाट उम्मेद्वार  बनेका माओवादी केन्द्रका रामकुमार राईले झण्डै तीन हजार मतले जित पराजित गरेका हुन । गठबन्धनका उम्मेद्वारले ३१ ह्जार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मत पाएका थिए ।  

यसैगरी हेवी वेट मानिएका नेकपा एमालेका अग्नि खरेल झापाबाट पराजित भएका छन् । खरेललाई नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले पराजित गरे । पुर्व महान्याधिवक्ता समेत रहेका खरेललाई विश्वप्रकाशले भारी मतान्तरले पराजित गरेका हुन । यसैगरी संखुवासभाबाट हेवी वेट मानिएका नेकपा एमालेका नेता राजेन्द्र गौतम पनि बढारिएका छन् । गौतम नेपाली कांग्रेसका नेता दिपक खड्कासँग पराजित बनेका हुन । यस्तै धनकुटाबाट सुर्यबहादुर थापाका छोरा सुनिल थापाले पनि हार व्यहोरेका छन् । नेपाली कांग्रेसका उम्मेद्वार थापालाई नेकपा एमालेका राजेन्द्र कुमार राईले पराजित गरे । एमालेका राईले ३० हजार १ सय १ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुनिल बहादुर थापाले २८ हजार ७०४ मत प्राप्त गरेका थिए । 

यस्तै मोरङ्ग ५ बाट हेवी वेट मानिएका नेकपा माओवादी केन्द्रका शिव कुमार मण्डल बढारिएका छन् मण्डललाई नेकपा एमालेबाट टिकट नपाएपछि उम्मेद्वार बनेका बागी योगेन्द्र मण्डलले जित निकालेका छन् । 

यस्तै पुर्व मन्त्री बलबहादुर केसी सोलुखुम्बुमा नेकपा एमालेका उम्मेद्वार मानविर राईसँग पराजित बनेका छन् । केसी २ हजार ७७९ मतले पराजित बनेका हुन । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार राईले १६हजार  ५४५ मत ल्याएका थिए भने नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका राईले १९ हजार ३२४ मत पाएर विजयी बनेका थिए । 

यता पाँचथरमा नेपाली कांग्रेसका नेता हेवी वेट मानिएका भिष्मराज आङ्गदेम्वे नेकपा एमालेका बसन्त नेम्बाङ्गसँग पराजित बनेका छन् । गठबन्धनको साथ रहेता पनि भिष्मराजले जित्न सकेनन् । 

यता हेवी वेट मानिएका नेकपा एकिकृत समाजवादीका प्रवत्ता जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नम्बर २ बाट बढारिएका छन् । खतिवडालाई नेकपा एमालेका नेता अम्बर बहादुर रायमाझिले हराएका हुन ।  

यसैगरी सुनसरीमा हेवी वेट मानिएका ज्ञानेन्द्र बहादुर कार्की र जगदिश कुशियैत विच कुन पछारिने हुन टुङगो हुन बाँकी छ भने इलाममा झलनाथलाई जित्न मुस्किल देखिएको छ त्यसो त सुनसरी ३ मा नेपाली कांग्रेसका विजय कुमार गच्छादार रेड लाइनमा परिसकेका छन् भने धरानमा जसपाका असोक राई दोस्रो स्थानमा छन् ।