इटहरीः कोशी राजमार्गअन्तर्गत रानी, विराटनगर इटहरी धरान सडक आयोजनामा फरक मापदण्ड देखिएको छ ।
एउटै आयोजनामा फरक फरक मापदण्ड देखिएपछि अयोजना विवादमा परेको छ । रानीदेखि इटहरीसम्म ३० मिटर र इटहरी देखि धरानसम्म ५० मिटर चौडाइको बाटो बन्ने गरी काम भइरहेको छ ।
जसका कारण इटहरीदेखि धरानसम्मको सडक बिस्तारमा समस्या देखा परेको हो । आयोजनाका प्रमुख विनोदकुमार मौवारका अनुसार स्थानीयवासीका कारण बाटो निर्माणमा समस्या देखा परिरहेको छ । केही प्राविधिक कठिनाइले पनि समस्या आइरहेको उनको भनाइ छ ।
विराटनगरदेखि इटहरीसम्मकै मापदण्डका आधारमा बाटो बन्नुपर्ने माग गर्दै इटहरीभन्दा उत्तरतर्फका स्थानीय आन्दोलित भएका छन् । अझै पनि स्थानीयको दबाबको कारण इटहरी चोकदेखि उत्तरतर्फको सडक बिस्तार हुन सकेको छैन ।
तर अयोजना सचिवालयका अनुसार २०४८ साउन १३ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार नै विराटनगर आसपासको क्षेत्रको सडक बिस्तार गरिएको हो । विराटनगर शहर आसपासको क्षेत्रमा १५–१५ मिटर सडक बिस्तार गर्न पाइने उल्लेख गरिएको थियो । २०३४ असार २० गतेको सरकारको निर्णयले जोगबनीदेखि धरानसम्मको सडकको चौडाइ सडकको बीच भागबाट २५–२५ मिटर रहने र दायाँबायाँ दुवैतर्फ गरी ५ मिटर फुटपाथ समेत रहने बताइएको थियो ।
सोहीअनुसार सडक निर्माण गर्न भनी आयोजनाले सडक खण्डमा पर्ने घर भत्काउन घरधनीलाई पत्र काटिसकेको छ । ६ लेन भनेकै ५० मिटर भएकाले त्यसमा कुनै विवाद गर्नुनपर्ने बताउँछन् प्रमुख मौवार ।
योजना सचिवालयका अनुसार घरवालालाई ऐन र निर्णय देखाउँदा समेत घर भत्काउन तयार हुन सकेका छैनन् । फलस्वरुप इटहरीको सैनिक ब्यारेकदेखि इटहरी चोकसम्म सडक बिस्तार प्रक्रियामा अवरोध छ ।
सो आयोजनाको अनुमानित लागत १० अर्ब ९० करोड रुपैयाँ रहेको छ । जसमध्ये ७ अर्बको ठेक्का लागिसकेको आयोजना प्रमुख मौवार बताउँछन् ।
हालसम्म ४४ किलोमिटर सडकखण्डमा काम भइरहेको छ भने बाँकी १० किलोमिटर ठेक्का प्रक्रियामा रहेको छ । बिजुलीका पोल, रुख, खानेपानीका पाइप तथा घरधनीको असहयोगका कारण निरन्तर काम हुन नसकेको मौवार बताउँछन् । सम्बन्धित कार्यालयमा गर्नुपर्ने विभिन्न प्रक्रियाका कारण तीव्र गतिमा काम हुन नसकेको उनको भनाइ छ ।