धरानः धरान उपमहानगरको वडा नम्बर २० मा मेयर हर्क साम्पाङ्गको आव्हानमा सावुन उद्योग सन्चालन गर्ने भन्दै श्रमदान सुरु भएको ठाउँको जग्गा वनको भएको भन्दै उक्त स्थानमा संरचना निर्माण गर्न अवरोध सिर्जना भएको छ ।  

वडा नं २० स्थित नमुना टोलमा केही दिनदेखि माया धराने नामको साबुन उद्योग खोल्न श्रमदान चलिरहेको थियो तर सोमबार अचानक जिल्ला वन कार्यलय सुनसरी र बिष्णुपादुका सव डिभिजन कार्यलयका कर्मचारी उक्त ठाउँमा पुगेपछि सावुन उद्योगको काम अन्यौलता तर्फ धकेलिएको छ । 

 धरान उपमहानगरपालिकाले त्यसक्षेत्रलाई औद्योगिक ग्राम बनाउने प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङले साबुन उद्योग बनाउने योजना अघि सार्दै श्रमदान आव्हान गरेका थिए । 

 उपमहानगरले आफ्नै डोजर लगेर जग्गा सम्याउने काम गरिसकेको छ भने गिट्टी कुट्न श्रमदान अभियान पनि चलिरहेको छ । रोजगारी सिर्जना हुने भन्दै स्थानीयबासीहरु पनि खुशी भएको अवस्थामा सोमबार भने वन कार्यालयका कर्मचारीहरु पुगेपछि केहीबेर तनाव सिर्जना भएको छ । 

वनका कर्मचारीले उक्त जग्गा सामुदायिन वन क्षेत्रमा पर्ने र भोगाधिकार प्राप्त नभएसम्म अन्य निकायले प्रयोग गर्न नपाउने बताएका थिए तर मेयर हर्क साम्पाङ्गले त्यसको प्रतिकार गरेका छन्  । 

भोगाधिकारको प्रक्रिया पुरा गर्न आइतबार नै उपमहानगरपालिकालाई पत्राचार पनि गरिएको बताइएको छ । यद्यपि मेयर साम्पाङले रुख नभएको खाली ऐलनी जग्गा वनको नभै स्थानीय सरकारको भएकोले अनावश्यक विवाद नझिक्न भन्दै वनका कर्मचारीलाई फिर्ता पठाइदिए । मेयर साम्पाङले विगतमा त्यही ठाउँमा तार घेराबारा गर्दा वन चुपचाप बसेको, वनको जग्गामा वस्ती बस्दा पनि नदेखेको र अन्य संस्थाहरुले पनि वनको जग्गामा भौतिक संरचनाहरु बनाउदा पनि किन नबोलेको भन्ने साम्पाङ्गको प्रश्न थियो । 

 विगतमा सोही प्रश्न गरेर वन कार्यालयमा आफुले पत्र पठाए पनि जवाफ अहिलेसम्म नआएको भन्दै अब आउदा त्यो पत्रको जवाफ लिएर मात्र आउनु भन्दै वनका कर्मचारीहरुलाई फिर्ता पठाएका थिए । मेयर साम्पाङले उक्त जग्गा स्थानीय सरकारको भएकोले उद्योग निर्माणको काम नरोकिने बताएका छन् । 

 जिल्ला वन डिभिजन कार्यालयका सहायक वन अधिकृत जीवन कुमार यादवले आफुहरु विकासको वाधक नभएको प्रष्ट्याउदै उक्त जग्गा वन क्षेत्रको भएकोले भोगाधिकार लिएर काम गर्न आग्रह गर्न आएको बताए 

उद्योग बन्न लागेको जग्गा जलकन्या सामुदायिक वन समुहमा पर्ने दाबी गरिएको छ । वन समुहले कार्ययोजना तयार गर्दा त्यसक्षेत्रमा चिल्ड्रेन पार्क बनाउने योजना बनाएको थियो तर  धरानको नगर कार्यपालिका बैठकबाट त्यसक्षेत्रमा औद्योगिक ग्राम बनाउने निर्णय गरेर प्रक्रिया अघि बढाएपछि वन समुह, स्थानीयबासीसँग पनि छलफल गर्दै उक्तकाम  स्वागत योग्य भएकोले आवश्यक प्रक्रियामा सहयोग गर्ने जनाएको थियो ।