विराटनगरः मोरङको विराटनगर–४ बरगाछी चोकस्थित कोशी राजमार्गमा बिहीबार साँझ तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । महिलाका पति मोटरसाइकल चालक घाइते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २८ प ३८५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख ४६२३ नम्बरको तेलको ट्याङ्करले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार मोरङको पथरीशनिश्चरे–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक २६ वर्षीय मनोज कार्की घाइते भएका छन् । घाइतेको हाम्रो अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।