काठमाडौंः  नागढुंगा–नौबिसे सुरुङमार्गको सुरुङ खन्ने काम ७० प्रतिशत सकिएको छ ।  २०८१ सालको साउनमा गाडी चलाउने लक्ष्यसहित सुरुङ खन्ने काम धमाधम भइरहेको छ । 

२०८१ असार मसान्तसम्ममा सुरुङमार्गको काम सकेर साउन पहिलो साताबाट सवारीसाधनका लागि खुला गरिने योजना रहेको नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक रामहरि पोखरेले बताए ।  उनका अनुसार सो लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको छ ।  यसका लागि अन्य स्थानीय तथा कुनै क्षेत्रबाट बाधा नरहेको उनको भनाइ छ । 

 दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम भइरहेको छ। यसैगरी सुरुङमार्गसँगै फिनिसिङ गर्ने काम पनि धेरै सम्पन्न भएको उनी बताउँछन् । आयोजनामा अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५४० जनाले काम गरिरहेका छन् । 

‘फिनिसिङ गर्नुभन्दा ६ महिनाअगाडि मुख्य सुरुङको ब्रेक थ्रु हुन्छ तर सकेसम्म लक्ष्यभन्दा चार महिना अघि नै सुरुङमार्गमा गाडी कुदाउन मिल्ने गरि काम भइरहेको छु’उनले भने।

उनका अनुसार सुरुङमार्गबाहिर पहुँचमार्ग निर्माणको काम भइरहेको छ । काठमाडौंतिर ओभरपास निर्माण सकिएको छ । यस्तै, बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ ।  मुआब्जा वितरणको काम धमाधम भइरहेको छ । 

फ्लाईओभरको लागि मात्र ८५ प्रतिशत मुआब्जा प्रतिशत बाँडिसकेको छ । बाँकी १५ प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको उनले बताए । 

करिव १२ रोपनी जग्गा र पक्की तथा टहरा गरी ५७ वटा संरचना अधिग्रहण गर्नुपर्नेछ ।  फ्लाई ओभर सेन्ट्रल दुई लेनबाट उठाएर निर्माण हुनेछ ।  चार लेनको दुई लेन फ्लाई ओभरका लागि प्रयोग हुने भएपछि आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो । सोही कारण धेरै जग्गा अधिग्रहण गर्नुपरेको हो । 

मुआब्जाका लागि मात्रै १ अर्ब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।  सुरुङमार्गको पोर्टलतिर जाँदा राजमार्गमा जाम हुन सक्ने भन्दै फ्लाई ओभर निर्माण गर्न लागिएको हो। दुई लेनको फ्लाईओभर १२८ मिटरको लामो हुनेछ । 

एउटा लेन ३.५ मिटरको हुनेछ ।  १२८ मिटर फ्लाई ओभरबाट करिव तीन किमी पहुच (एक्सेस) सडक मार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ । बलम्बुमा निर्माण हुने फ्लाइओभर आयोजनाको मुख्य निर्माण कम्पनी हाज्मारआन्दो कर्पोरेशन लिमिटेडले नै निर्माण गर्नेछ । 

मुख्य सुरुङ खन्ने काम ७०.२० प्रतिशत सकियो

मुख्य सुरुङ खन्ने काम ७०.२० प्रतिशत पूरा भएको छ ।  मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी ३८५९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । 

काठमाडौंतर्फ मुख्य सुरुङ ८३२ मिटर र सहायक सुरुङ १०४५ मिटर पूरा भएको आयोजनाले जनाएको छ ।  यस्तै, धादिङतर्फ ८७८ मिटर मुख्य र ९०२ मिटर इभाकुएसन टनेल खन्ने काम सकिएको छ र धादिङतर्फ १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४ मिटर क्रस प्यासेज पनि निर्माण भएको छ । 

इभाकुएसनको कुल लम्बाई २५५७ मिटर र मुख्य सुरुङ २६८८ मिटर रहेको छ । 

इभाकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी बनाइने सुरुङ हो । यसरी समानान्तर हुनेगरी खनिने इभाकुएसन टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज)ले मुख्य सुरुङसँग जोड्छ । 

आयोजनाका अनुसार अहिले सुरुङमार्गभित्रको कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ ।  हाल मुख्य सुरुङको काम फिनिसिङ अथवा कंक्रिट लाइनिङ गर्ने कार्य भइरहेको छ ।  जसमा हालसम्म ९४६.६० मिटर मुख्य सुरुङको कंक्रिट गर्ने काम सकिएको छ । 

यो कुल सुरुङको ३३.७० प्रतिशत हो । यसमा गाडी चलाउन सक्ने गरी फिनिसङ गरिएको सुरुङमार्ग हो ।  यसमा अहिले गाडी पनि गाडी चलाउन सकिन्छ । 

यस्तै, मुख्य सुरुङका साथै तीनवटा अण्डरपास, चारवटा बक्स कल्भर्ट, ओभरपास, तीनवटा ब्रिज लगायतको बाहिरका संरचनाको हालसम्म काम ३९५ काम सम्पन्न भएको छ । 

हालसम्म आयोजनाको कुल भौतिक प्रगति ४६.२६ प्रतिशत सम्पन्न भएको छ । यस्तै आर्थिक रुपमा भने लगभग साढे १० अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।  यो भनेको आयोजनाको कुल लागतको ४८.८३ प्रतिशत हुन आउछ । बिजमाण्डुबाट