Photo: Miss Itahari Purwanchal 2017
इटहरी/ इटहरीमा जारी प्रथम मिस सुनसरी प्रतियोगितामा युवतीहरूलाई जबरजस्त ‘एक्सपोज’ हुन लगाइएको आरोप लागेको छ ।
पल इन्टरटेनमेन्ट काठमाडौ र लेडी जेसीज सुनसरीले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा युवतीहरूलाई बोल्ड र एक्स्पोज हुने नाममा अर्धनग्न तस्बिर खिच्ने नाममा यातना दिएको भन्दै उनीहरूले तालिम छोड्न थालेका छन् ।
जेठ २२ गते इटहरीको होटल प्रिमियरमा भएको अडिसनपछि इटहरी बैंक्वेटमा हाल तालिम सञ्चालन भइरहेको छ । तर, असार दोस्रो हप्तामा प्रतियोगितामा भाग लिएका युवतीहरूलाई भित्री वस्त्र मात्रै लगाएर पोज दिन र असहज मुद्रामा फोटो सुट गर्न आयोजकले आग्रह गरेपछि केही युवतीहरूले तालिमै छाडेका छन् ।
आयोजक अमित पल भनिने अमित पौडेलले प्रतिस्पर्धी युवतीहरूलाई विभिन्न अर्धनग्न तस्बिर देखाएर त्यस्तै पोज दिन भनेपछि युवतीहरूले तालिम छाड्न थालेको बताइएको छ ।
जेठ २२ गते २१ जनाले अडिसन दिएकोमा १८ जना क्लोज क्याम्पमा थिए । तर, हाल ४ जना हाराहारीले प्रतिस्पर्धा छाडिसकेको एक आयोजक सदस्य नै स्वीकार्छन् ।
तालिमको दौरानमा इटहरीमा भएको फोटो सुटमा युवतीहरूलाई एक्लाएक्लै अर्धनग्न तस्बिर खिच्न आग्रह गरेपछि केही युवतीहरूले लेडी जेसीजलाई ‘कम्प्लेन’ गरेका थिए । तर, जेसीजले प्रतियोगिता सम्पन्न हुनुअगाडि यस्ता कुरा बाहिर ल्याउँदा प्रतियोगितामा असर पर्ने भएको भन्दै कुरा गुपचुप राखेको एक प्रतिष्पर्धी बताउँछिन् । प्रतियोगिता व्यावसायिक नलागेर तालिमबाटै निस्किएको बताएकी उनले आयोजकहरूको एक्स्पोज आतंक र चर्को खर्चले मिस सुनसरी छोड्नुपरेको बताइन् ।
उनका अनुसार फारम शुल्क बापत १ हजार र अन्य तालिम खर्चबापत १५ हजार गरेर हरेक युवतीहरूले १६ हजार तिरेका छन् । यसरी महँगो शुल्क तिर्दा पनि सामान्य नास्ता समेत आयोजकले नदिने अनि सम्पूर्ण वस्त्रहरू पनि आफैँले किन्नुपर्ने अर्की एक युवतीले बताइन् । पूर्वी बजारकर्मीसँग संवाद गरेका र हाल तालिमबाट बाहिरिएका ३ प्रतिष्पर्धीले आफूहरूले सोचेको भन्दा भिन्न र हचुवामा प्रतियोगिता भएको देखेर छाडेको बताए ।
तत्काल मिडियामा नाम सार्वजनिक गर्न नचाहेका उनीहरूले ‘ब्युटी विथ ब्रेन’ भन्दा पनि भद्दा सौन्दर्यको नाममा एक्स्पोज गर्न सबै प्रतियोगीलाई दबाब दिइएको बताए । प्रतियोगिताबाट असन्तुष्ट भएर आफँै बाहिरिएकी इटहरीकी एक प्रतिष्पर्धीले अडिसनपछि आयोजकहरू आफैँ तम्सिएर एकान्तमा अर्धनग्त तस्बिर खिच्न कर गर्ने र खिच्न हिचकिचाउनेहरूलाई अन्य प्रतिष्पर्धामा खिचेका तस्बिर देखाएर कर गर्ने गरेको बताइन् ।
उनले भनिन्, ‘मिस सुनसरीको पहिलो संस्करण भनेर राम्रो होला, क्षमता प्रदर्शन गर्न पाइएला भनेर गएको तर उहाँहरूलाई अरु भन्दा जिउ देखाउनु मात्रै आवश्यक रै’छ ।’
‘एक्स्पोज होइन ट्यालेन्ट हेरिन्छ, पैसा दिन नसक्नेले छाडे’
प्रथम मिस सुनसरीमा अनावश्यक रूपमा युवतीहरूलाई एक्स्पोज हुन लगाएर आफूहरूले छाडेको बताएको भनाइ विपरीत आयोजक संस्थाका अमित पौडेल भने त्यस्तो नभएको दाबी गर्छन् । उनी भन्छन्, ‘हामी ट्यालेन्ट, सुन्दरता, व्यक्तित्व, क्याट वाक र पब्लिक रिलेसन आदि मात्रै हेर्छौं ।’
किन विभिन्न युवतीले प्रतियोगिताको तालिमकै दौरानमै छाडिरहेका छन् भन्ने प्रश्नमा भने पौडेलले उनीहरूले आयोजकको कारणले होइन आफ्नै कारणले छाडेको बताए । पूर्वी बजारसँग फोनमा कुराकानी गर्दै पौडेलले भने, ‘विभिन्न पोशाक र फोटो सुटमा पैसा लाग्छ त्यो खर्च दिन नसक्नेहरू आफँै निस्केका छन् ।’
मिस सुनसरीको सुरुवात नै विवादमा
इटहरीको लेडी जेसीज र पल इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको मिस सुनसरी प्रतियोगितामा शुरुबाटै विवाद उत्पन्न भएको थियो । लेडी जेसीजका प्रतिनिधिहरूले इटहरी उपमहानगरमा प्रतियोगिताको लागि केही लाख रकम मागेपछि उपमहानगरभित्रै उनीहरूको आलोचना भएको थियो ।
विभिन्न विपन्न, आदिवासी, अल्पसंख्यक र समस्यामा परेका युवतीहरूको नाममा आएको बजेट सुन्दरी प्रतियोगितामा नदिने भनी उपमहानगरले अडान लिएको थियो । पैसावालाले मात्रै भाग लिन सक्ने प्रतियोगितालाई रकम दिन नमिल्ने भनेर मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले प्रस्तावक इटहरी लेडी जेसीजलाई बताएका थिए ।
उपमेयर लक्ष्मी गौतमले त विवादमा आउने यस्ता कार्यक्रमको प्रायोजनमा कुनै आर्थिक सहयोग गर्न नमिल्ने सार्वजनिक रूपमै बताएकी थिइन् । बजेट निर्माणताका सुझाव संकलन गर्न सुनसरीका पत्रकारहरूसँग बोल्दै उपमेयर लक्ष्मी गौतमले भनेकी थिइन्, ‘उपमहानगरमा रहेका विभिन्न महिलालाई क्षमता विकास गर्न आवश्यक पैसा नै नभएको अवस्थामा यसरी सुन्दरी प्रतियोगिता जस्तो अनुत्पादक र विवादित क्षेत्रमा स्थानीय सरकारको पैसा दिन सकिन्नँ ।’