इटहरीः इटहरीमा निर्माणाधिन श्री प्राणनाथ अस्पतालको काम पचास प्रतिशत सम्पन्न भएको अस्पताल निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष हेम प्रसाद घिमिरेले बताएका छन् ।
इटहरीको बुढीगंगा जमुना मुक्तिघाट नजिकै स्थापना हुन लागेको १५ शैयाको श्री प्राणनाथ अस्पतालको लागि १ थान एम्बुलेन्स सहयोग स्वरुप प्राप्त भइसकेको छ भने अस्पतालकै नाममा सञ्चालन हुने शव वहान समेत आइसकेको छ ।
स्वामी षदानन्द च्यारिटेवल ट्रष्ट नेपालको सहयोगमा अस्पतालको नाममा शव वहान आइसकेको अस्पताल निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले जानकारी दिए ।
सर्वसाधारणको मृत्युलाई पनि रथारोहण सहित मुत्तिघाट सम्म पुर्याउनका लागि सुविधासम्पन्न शव वहानको व्यावस्था भएको घिमिरेको भनाई छ ।
इटहरी आसपास नीजि र सहज रुपमा सर्वसाधारण उपचार हुने अस्पतालको अभाव देखेपछि श्री प्राणनाथ अस्पतालको अवधारणा ल्याइएको हो ।
मृत्यु पश्चात गरिने संस्कारलाई रथारोहण सहित भव्य बनाउन घरदेखि घाटसम्म लैजानको लागि शव वहानको अवधारणा ल्याइएको अध्यक्ष घिमिरेले बताए ।
श्री १०८ षदानन्द गुरुजीको सहयोगमा रथ अर्थात शव वहान उपलव्ध भएको भन्दै गंगा जमुना वृहत्तर मुक्तिधामका अध्यक्ष समेत रहेका घिमिरेले सहयोग दातालाई आभार प्रकट गरेका छन् । शव वहान अव केही दिन पश्चात बुढी गंगा जमुना मुक्तिधामको नामबाट सञ्चालन गरीने र अस्पताल सन्चालन भएपछि अस्पतालको हेरदेखमा रहने घिमिरेको भनाई छ ।
श्री प्राणनाथ अस्पताल यही बर्षको चैत्र मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य भएता पनि केहि पर धकेलिएको र एक बर्षभित्रै सञ्चालनमा आउने घिमिरेले बताए ।