विराटनगरः वन तथा भू–संरक्षण विभागद्वारा विराटनगरमा आयोजित कार्यक्रमका वक्ताले जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्नेमा जोड दिएका छन् ।

आज विराटनगरमा आयोजित ‘सङ्घीय संरचनामा कोशी बृहत जलाधार व्यवस्थापनमा प्रयास र सम्भावना’ विषयक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन गर्नुपर्ने धारणा उनीहरूले राखेका हुन् ।

कार्यक्रममा प्रदेश नंं १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बहुआयामिक कोशी जलाधारको उचित व्यवस्थापनले सिँचाइ र ऊर्जा क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सकिने बताए ।

त्यस्तै, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले कोशी नदी नेपाल, भारत, चीन र बङ्गलादेशसँग जोडिएकाले यसबाट वृहत फाइदा लिन सकिने गरी योजना बनाउनुपर्ने बताए ।

प्रदेशका भौतिक पूर्वाधार योजना सचिव सागरकुमार राई र वन तथा भू–संरक्षण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले जल, जमिन, वातावरण र विकासमा सन्तुलन कायम गर्न जलाधार क्षेत्रको उचित प्रयोग र व्यवस्थापन हुनुपर्ने धारणा राखेका थिए ।

भोलिसम्म चल्ने सो कार्यक्रममा वन तथा भू–संरक्षण क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख, सिँचाइ कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुखको लगायत सहभागी छन् ।