विराटनगरः विराटनगर महानगरपालिकाले महानगरभित्र छाडा छाडिएको चार सय भन्दा बढि कुकुरको बन्ध्याकरण गरेको छ । 

महानगरले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सडकका कुकुरको बन्ध्याकरण गरिएको बताइएको छ । 

गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो ४ सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा २४० वटा पुरुष जातका कुकुर  र १६२ महिला जातका कुकुरको  बन्ध्याकरण गरिएको पशुपक्षी विकास शाखाले जनाएको छ । 

गत मङ्सिर १९ गते विशेष समारोहका मेयर नागेस कोइरालाले बन्ध्याकरण अभियानको सुरुवात गरेका थिए । वडा नम्बर १८ बाहेकका सबै वडाबाट कुकुरको नियन्त्रण गरेर बन्ध्याकरण गरिएको महानगरले बताएको छ ।  

विराटनगर–१९ मा रहेको पशु सेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिएको थियो । सहारा एनिमल केयरसँगको सहकार्यमा गरिएको अभियानमा बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिएको थियो ।