काठमाडौंः  निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने तयारी गरेको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने तयारी छ ।

प्रतिवेदन बुझाउनका लागि आयोगका पदाधिकारी सबै प्रदेश राजधानी पुगिसकेको उनले जानकारी दिए  । प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती पुगेका छन् ।

गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने कार्यक्रम छ । सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले जानकारी दिए । 

प्रतिवेदन बुझाउनुअघि शनिबार नै सबै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ । प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन् ।

आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ । आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संघमा जस्तै सातै प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन् । रासस