धनकुटाः धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको बैठक बसेको छ ।
सदरमुकामस्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा महासङ्घको केन्द्रीय समितिको बैठक शुरु भएको हो । बैठकमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, सचिव दिलीप थापामगरसहित ६० सदस्य भन्दा बढीको उपस्थिति छ । बैठक विधान संशोधन, न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायतका विषयमा केन्द्रित हुने जनाइएको छ ।
बैठकको व्यवस्थापन पत्रकार महासङ्घ धनकुटा शाखाले गरेको छ । महासङ्घको बैठक यसअघि उपत्यकाबाहिर काभ्रेको धुलिखेल र रुपन्देहीको लुम्बिनीमा बसेको थियो । हरेक ६÷६ महिनामा महासङ्घको केन्द्रीय बैठक बस्ने गरेको छ ।
१ सय २६ घण्टा नाच्नेलाई सम्मान
यसैबीच, १ सय २६ घण्टा निरन्तर नाचेर विश्वकीर्तिमान राख्ने धनकुटाकी वन्दना नेपाललाई महासङ्घको धनकुटा शाखाले सम्मान गरेको छ । अघिल्लो महिना उनले निरन्तर १ सय २६ घण्टा नाचेकी थिइन् । सबैभन्दा लामो समयसम्म नाच्ने व्यक्तिको रूपमा उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुने क्रममा छ ।