चितवनः किसानले गोटाको १० रुपैयाँ पाउने अन्डाको उतपादन लागत १५ रुपैयाँ पुगेको छ । नेपाल पोल्ट्री महासंघका अनुसार उत्पादन लागतका तुलनामा प्रतिफल नपाउँदा व्यवसायी र किसानमा निराशा छ ।
अण्डा गुणकारी छ तर महत्त्व जनमानसमा प्रचार हुन नसक्दा नै व्यापार बढ्न नसकेको ठहर नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टको छ । थोरै मूल्यमा पाइने स्वास्थ्यवद्र्धक अण्डाको महत्त्व बारेमा आम नागरिकलाई जानकारी गराउनुपर्ने उनले बताए ।
बालबालिकालाई खाजाका रुपमा ड्राइफुड प्रयोग भइरहेको भन्दै उनले जनचेतना जगाएर अण्डाको उपभोगलाई बढाउनुपर्ने बताएका छन् । संसारका बिभिन्न मुलुकमा अण्डाको खपतबारेको अवस्था हेर्दा नेपाल निकै पछाडि छ ।
नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा सुवीरसिंह अनुसार शारीरिक पोषणका स्रोत हिसाब गर्दा एसियामा प्रतिव्यक्ति वार्षिक १ सय ८० वटा अण्डा उपभोग गर्नुपर्ने देखिन्छ । नेपालमा यो दर ६१ मात्रै छ । जापानमा उक्त दर ३ सय ६२ रहेको उनले बताए ।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल बालबालिकाका लागि स्वस्थकर खाजा प्रयोग बढाउँदा अण्डाको खपत वृद्धि हुने बताउँछन् । अण्डाको उपभोग बढाउने नीति बनाउनुपर्ने उनको मत छ । ‘न्यून लागत मूल्यमा पाइने अण्डाको महत्त्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ,’ उनले भने ।
चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठ अण्डामा मानव शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइने प्रष्ट्याउँछिन् । ‘गेडागुडी, माछामासुमा भन्दा अण्डामा पाइने प्रोटिन हाम्रो शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो,’ उनले भनिन्। अण्डाको प्रोटिन आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनी बताउँछिन्।
‘हाम्रो शरीरलाई चाहिने सबै किसिमका आवश्यक एमिनो एसिड अण्डामा पाइने भएकाले यो पूर्ण प्रोटिनको स्रोत हो,’ उनले भनिन्, ‘अण्डाको प्रोटिनले शरीरको वृद्धि विकास गर्न, शरीरमा भएका घाउ निको पार्न, विभिन्न किसिमका रोगसँग लड्ने दक्षता बढाउन, शरीरमा मांसपेशी निर्माण गर्न मद्दत गर्दछ।ु’
एउटा अण्डामा लगभग ६ ग्राम प्रोटिन, ५ ग्राम फ्याट, भिटामिन ए, डी, इ, बी १२ पाउनुका साथै विभिन्न खनिज पदार्थ पाइने उनले जानकारी दिइन । अण्डाको सेतो तथा पहेँला दुवै भागमा प्रचुर मात्रामा पौष्टिक तत्व पाइने भएकाले हाम्रो शरीरको लागि दुवै भाग महत्वपूर्ण हुने उनको भनाइ छ । सेतो भागमा अण्डामा पाइने सम्पूर्ण प्रोटिनको आधाभन्दा बढी प्रोटिन पाइनुका साथै अरु खनिज पदार्थजस्तै क्यालसियम, म्याग्नेसियम, पोटासियम, सेलेनियम, सोडियम, सल्फर, जिंक आदि पाइने उनी बताउँछिन् ।
‘अण्डा बच्चा, बूढाबूढी, गर्भवती महिला, दूध खुवाउने आमा, क्यान्सर तथा विभिन्न रोगका बिरामी सबैका लागि एकदम आवश्यक हुन्छ,’ उनी भन्छिन्। एउटा स्वस्थ मानिसले दैनिक एकदेखि दुई वटा अण्डा खान ठीक मानिने बताउँदै उनले धेरै प्रोटिन चाहिने मानिसले थप एक दुई अण्डाको सेतो भाग खान सक्ने सुझाव दिइन ।
फिजिसियन डा. महेन्द्र अग्रहरी प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउँछन् । पहेँलो भागमा कोलेस्ट्रोल र मिनरल्स पाइन्छ । बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेँलो भाग खुवाउनुपर्ने उनको सुझाव छ। कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकाले भने अण्डाको पहेँलो भाग खान नहुने उनी बताउँछन्। रासस