बेलबारी: युवाहरूलाई समृद्धिको बाटोमा लाग्न प्रेरणा जगाउने अभिप्रायका साथ जनजागृति युवा क्लबको आयोजनामा युवा सम्मेलन शुरु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिकामा २ दिनसम्म चल्ने सम्मेलनको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आज उद्घाटन गरेका छन् ।

बुढीगंगा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको नारायण माविमा भइरहेको सम्मेलनमा नगरभरिका कम्तीमा ५ सय जना युवाहरूलाई प्रशिक्षण दिने लक्ष्य रहेको सम्मेलन मूल आयोजक समितिका सचिव एवम् सामाजिक अभियन्ता रीता न्यौपानेले बताइन् ।
उद्घाटन कार्यक्रममा सांसदहरू यशोदा अधिकारी, विजय विश्वास, सावित्रा रेग्मी, बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारलगायत विभिन्न राजनीतिक पार्टी तथा सङ्घसंस्थासँग आबद्ध व्यक्ति सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्कीले युवालाई समेटेर यसरी आयोजना गरिएका यस्ता कार्यक्रमको विशेष महत्व रहेको र यस्ता कार्यक्रममा सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

बुढीगंगा गाउँपालिकाकी उपप्रमुख अमृता गच्छदारले मातृभाषामा मन्तव्य राख्दै युवा अगाडि नबढेसम्म देश समृद्धिमा नपुग्ने बताइन् ।

कार्यक्रममा युवा सङ्घका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, नेकपाका गणेश उप्रेती, पूर्व सांसद ऋषिकेश पोखरेल, महेश रेग्मी, प्रदेशसभा सांसद विजय विश्वासलगायतले आफ्नो धारणा राखेका थिए ।

budhi gangama yuba sammelan  (2)