इटहरीः आज उँधौली पर्व मनाइँदैछ । विशेषगरी पूर्वी क्षेत्रका किरात समुदायले यो पर्व धुमधामका साथ मनाउँछन् ।
खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उँधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो (लेकतिर) गई उँभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो (तराई) झर्ने भएकाले यो पर्वलाई उँधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपंक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।
पहाडी समुदायमा गोठपूजा
त्यस्तै, पहाडी समुदायले आजको दिनमा कुलपूजा र गोठपूजा गर्ने गर्छन् । बन्धुबान्धव एकै ठाउँमा भेला भई कुलपूजा र गोठपूजा गर्ने परम्परा रहेको छ ।
नेवार समुदायको योमरी पूर्णिमा
विशेष गरी उपत्यकाका नेवार समुदायले आजको दिनलाई योमरी पूर्णिमाको रुपमा मनाउँछन् ।
उपत्यकाको नेवार समुदायले ४ सय वर्षअघि उत्तरायण माघ १ गतेबाट आजकै दिनमा सरेको विश्वास गर्ने गरेको छ । आज चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाएर यो पर्व मनाइन्छ ।