इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षण गर्ने पर्वका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
किराँत धर्मावलम्बीको चाड उँधौली तथा चासोक तङ्नामका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्व पर्यटकीय आकर्षणका केन्द्र हुन सक्ने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ‘विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुने बाजागाजा, नृत्य तथा अन्य गतिविधि स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गरेका छन् । ‘हाम्रो जातीय, भाषिक र धार्मिक विविधता नै नेपालीलाई एक सूत्रमा बाँध्ने माध्यम भएका छन्’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
आजको दिनलाई सरकारले किरात चाडको रूपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।