इटहरीः २०७५ सालको उँधौली पर्वको अवसरमा शुभकामना दिँदै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपालको जातीय र भाषिक विविधतालाई उँधौलीजस्ता चाडपर्वले आपसमा गाँसी एकता कायम गर्ने बताएका छन् ।
उँधौली पर्वको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘उँधौलीजस्ता चाडले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एकआपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।’
साथै यस किसिमका मौलिक सांस्कृतिक चाडपर्वले समुदायबीच आपसी सद्भाव बढाउने काम गरेको पनि उनले सन्देशमा उल्लेख गरेका छन् । ‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न नेपालमा मनाइने यस्ता चाडपर्वको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउन लाग्नु हामी सबैको कर्तव्य हो’, राईले शुभकामना सन्देशमा भनेका छन्, ‘यो पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्नमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’




















