इटहरीः नेपाल र भारत सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब ८ वर्षमा १ सय ४० किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

आर्थिक वर्ष २०६६÷६७ देखि आयोजना शुरु भएको हो । आयोजना निर्देशक अशोक तिवारीका अनुसार ठेक्कापट्टा, मुआब्जा जस्ता विवादाले सडक निर्माणमा ढिलाइ भइरहेको हो ।

उनका अनुसार पहिलो चरणमा १ हजार २ सय ४८ किलोमिटर सडक निर्माण कार्य गत वर्षबाट निर्माण शुरु भएको हो । आर्थिक वर्ष २०७९÷८० सम्ममा ९ सय ७५ किलोमिटर कालोपत्र गर्ने योजना रहेको यो सडक चालु आर्थिक वर्षमा १ सय किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ ।

आगामी चार वर्षभित्र हुलाकी राजमार्ग निर्माण गर्ने गरी काम भइरहेको उनले बताए । १ हजार ८ सय ७२ किलोमिटरमध्ये ९ सय ७५ किलोमिटर पूर्व–पश्चिम र ८ सय ९७ किलोमिटर उत्तरदक्षिण सडक रहेको बताइएको छ ।

प्रदेश १ मा कहाँ हुँदैछ काम
हुलाकी राजमार्गअन्तर्गत झापाको मेची– भद्रपुर– रतुवा– आम्बारी सडक खण्ड २८ किलोमिटर कालोपत्रे गर्ने काम भइरहेको छ । त्यस्तै, मोरङको रतुवा–केसलिया सडक खण्डको ४० किलोमिटर सडक पनि कालोपत्रे गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

मुआब्जा नदिइने, पुराना सडक दोब्बर ठूला बनाइने
यसैगरी, नेपाल सरकारले बनाउने सडकको जग्गाको मुअब्जा नदिने भएको छ । भारत सरकारले राजमार्ग बनाउँदा राजमार्गमा पर्ने जग्गाको मुआब्जा भने दिएको आयोजनाले जनाएको छ ।

पहिले बनेका राजमार्ग १ लेनका मात्रै भएकाले ती सडकलाई दुई लेनको बनाइने पनि आयोजनाले जनाएको छ ।