दोलखाः दोलखामा खेतीपाती तथा निर्माण प्रयोजन समेतका लागि लामो समयदेखि प्रयोग हुँदै आएका बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको बिक्री घट्न थालेको छ ।
दिनपरदिन प्लास्टिकजन्य सामग्री भित्रिएसँगै यस्ता बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको बिक्री घट्न थालेको यस सम्बन्धितका व्यवसायी भीमेश्वर नगरपालिका–४ का कृष्णबहादुर विकले दुखेसो पोखे ।
उनका अनुसार प्लास्टिकजन्य सामग्री भित्रिएसँगै परम्परागतका डोको, डालो, थुन्से, भकारी, नाङ्गोलगायतका सामग्रीको बिक्री घट्न थालेको हो । उनले ५० वर्षदेखि यो पेसा अपनाउँदै आएका हुन् । अहिले दिनपरदिन यस्ता सामग्रीको बिस्तारै बिक्री हुन छाडेपछि आर्थिक सङ्कट निम्तिन लागेको छ ।
उनले दुखेसो पोख्दै भने, पहिले चोयाबाट बन्ने यस्ता सामग्री बुन्न भ्याई नभ्याई हुन्थ्यो । अहिले केही बुनेका सामग्री पनि बिक्री नै हुँदैनन् । बाबुबाजेका पालादेखि धानेको पेसा सङ्कटमा पर्न थालेपछि जीवनयापन कसरी गर्ने भन्नेमा चिन्तागस्त हुन थालिएको छ ।
भीमेश्वर नगरपालिकाका र सैलुङका केही क्षेत्रमा यो पेसा अपनाउने धेरै रहेका छन् । सैलुङका श्यामबहादुर श्रेष्ठको पनि उस्तै पिरलो रहेको छ । उनले भने, चोयाबाट निर्मित सामग्रीको बिक्री घटेपछि घर व्यवहार चलाउनै गाह्रो भएको छ । अब घर खर्च र बालबच्चाको पढाइ कसरी गर्ने ? समस्या भएको छ । यस पेसामा आश्रितहरूको बेहाल हुन थालेको छ ।
परम्परागत सिपको संरक्षण र उत्पादित सामग्रीको बजारीकरणको उचित व्यवस्था गरिदिन यस सम्बन्धित पेसाकर्मीहरूले जोडदार माग राखेको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।