तेह्रथुमः तेह्रथुमको म्याङलुङ नगरपालिकाको वडा नम्बर ५ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको छ ।

वडा कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्याउन पोशाक र झोला सहयोग गरेको वडाध्यक्ष होमबहादुर खड्काले बताए ।

चालु आर्थिक वर्षको बजेटबाट हरिहर आधारभूत विद्यालयका ७० जना, मुनारत्न आधारभूत विद्यालयका २४ जना र सिंहवाहिनी आधारभूत विद्यालयका २६ जना गरी कुल १ सय २० जना विद्यार्थीलाई एक÷एक थान स्वीटर र झोला वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको वडासचिव मानबहादुर सुनारले बताए । कार्यक्रममा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई २ हजार ५ सय रुपैयाँका दरले स्वास्थ्य उपचार सहायता रकमसमेत उपलब्ध गराइएको वडाध्यक्ष खड्काले बताए ।