इटहरीः पावर र पहुँचवाला पिडकले आफुले दुर्घटना गराएको क्षतिपुर्ती नभर्दा मोरङ्गको सुन्दरहरैँचाको एक परिवार पीडक पक्ष कुर्दै एक महिना देखि हस्पिटलमा पर्खिरहेको छ । 

स्कुटरले ठक्कर दिएर घाइते बनेका मोरङको सुन्दरहरैंचा १ पचामका १३ वर्षीय रुपेश खवास उपचार गरि ठिक भइसक्दा पनि ठक्कर दिने स्कुटीका धनी सम्पर्कमा नआउँदा हस्पिटलमा बन्धक जस्तै बसिरहेका छन् । 

पहुँचवाला भएकै कारण पिडक पक्ष अहिलेसम्म अस्पतालको सम्पर्कमा नआएका कारण उपचार गरेर ठिक भइसक्दा पनि हस्पिटलको  विल तिर्न नसकेपछि पिडित परिवार हस्पिटलमै बस्नु परेको हो । 

मङ्सिर २ गते उनलाई स्कुटरले ठक्कर दिएर घाईते भएका रुपेश अहिले सामान्य अवस्थामा छन् तर स्कुटर चालक र धनी दुवै सम्पर्कमा नआउँदा उनको परिवार हस्पिटलमै बस्न बाध्य भएको छ । रुपेशको विराटनगर स्थित आर्या न्यूरो अस्पताल उपचारका लागि भर्ना गरिएको थियो । गम्भीर घाईते उनको उपचारपछि स्वास्थ्यमा सुधार आईसकेको छ । चिकित्सकले घर लैजान सुझाव समेत दिईसकेका छन् ।

तर, दुर्घटना गराउने पक्ष अहिलेसम्म अस्पताल आईपुगेकै छैन । मोरङ सुन्दरहरैंचाका दिलकुमार खवासले चलाएको स्कूटी सियाराम माझीको नाममा रहेको पाइएको छ । दुर्घटना गराएपछि न त दिलकुमार सम्पर्कमा छन् त त सियाराम नै । दिलकुमार खवाससँग लाइसेन्स समेत थिएन । 

रुपेश कक्षा ४ मा पढ्ने विद्यार्थी हुन । बुवा आमा घरी घर र घरी हस्पिटल ओहोर दोहोर गरीरहेका छन् तर पिडक पक्ष सम्पर्कमा आएको छैन । 

हालसम्म रुपेशका परिवारको उपचारमा पाँच लाख खर्च भएको छ भने आफ्नो फाल्टो खर्चमात्रै डेढलाख बढि भएको छ । दुर्घटना गराउने पक्षले अस्पताललाई पाँच लाख भर्नु पर्ने भएता पनि अहिलेसम्म सम्पर्कमा नआउँदा अस्पतालले पनि रुपेशका परिवारलाई नै दवाव दिइरहेको छ । 

निम्न वर्गिय परिवारका रुपेशका बुवा अक्षय कुमारको आफ्नो जग्गा जमिन समेत नभएको बुझिएको छ । 

आर्या न्यूरो अस्पतालका सञ्चालक दिनेश ठाकुरका अनुसार बिरामीको उपचार गराएर आराम भईसक्दा समेत दुर्घटना गराउने पक्ष उपस्थित भएको छैन । अस्पताल प्रशासनले भने इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्र लेखेर दुर्घटनाको उपचार भईरहेको र सो वापतको भुक्तानी बाँकी रहेको जानकारी गराएको छ ।

पहुँचवाला पीडक भएका कारण प्रहरी उतै मिल्दा परिवाररै असजिलोमा परेको पिडितहरुको भनाई छ  । उनीहरुले पीडक कतिजना छन्, कसले जिम्मा लिने हो भन्नेसम्म धेरै जानकारी राखेका छैनन् ।